बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिपछि बागलुङको काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बिहीबार गाउँपालिकामा बसेको जनप्रतिनिधि तथा कर्मचारीको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका प्रवक्ता टिका संगम विकले विनाशकारी विपद्का बेला स्थानीय सरकार चुप लागेर बस्न नहुने भन्दै तत्काल सहयोग गर्ने निर्णय गरिएको बताए।
बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
ताराखोलाले पनि सहयोग गर्ने
यसअघि बागलुङकै ताराखोला गाउँपालिकाले पनि बाढी प्रभावित जिल्लाका विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरिसकेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालका अनुसार गाउँ कार्यपालिकाको बैठकले रसुवा, नुवाकोट र धादिङका विपद् व्यवस्थापन कोषमा जनही १ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
बाढीबाट व्यापक क्षति
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी हुँदै नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्