काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीको मुख्य कारण ‘हिमनदी भत्किनु’ रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । हिमनदीको ठूलो भाग टुक्रिएर भिरालो सतहबाट तल खस्दा उक्त घटना भएको यूएसजीएसको निष्कर्ष छ ।
बुधबार भएको घटना ‘शक्तिशाली’ भएको जनाएको छ । यूएसजीएसले सुरुमा त्यसलाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा दर्ता गरेको सीएनएनले जनाएको छ ।
भूकम्प नभएको पुष्टि
सुरुमा भूकम्पका कारण हिमपहिरो गएको हुनसक्ने आशंका गरिएको थियो । टोलीमा रहेका भूकम्पविद्हरूले हिमनदीको ठूलो भाग भत्किएर उपत्यकाको फेदीमा बजारिँदा उत्पन्न भएको कम्पनलाई भूकम्पीय तरंगका रूपमा रेकर्ड गरिएको निष्कर्ष निकालेका छन् ।
नजिकैका सिस्मोग्राफिक स्टेसन, दीर्घ–अवधिका भूकम्पीय तरंग तथा भूउपग्रहबाट प्राप्त तस्बिरको विस्तृत विश्लेषणपछि उक्त घटना भूकम्प नभई हिमनदी भत्किएर लेदो बगेको घटना भएको यूएसजीएसले जनाएको छ । हिमनदी भत्किँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको यूएसजीएसले उल्लेख गरेको छ ।
विश्व वन्यजन्तु कोषका अनुसार, नेपालका हिमनदीहरू वार्षिक १५ मिटरसम्मको दरले पग्लिँदै वा खस्किँदै गएका छन् । यस्ता वातावरणीय परिवर्तनले पहाडी भू–संरचनालाई कमजोर बनाउने र अस्थिर जलाधारको अवस्था सिर्जना गर्ने भएकाले विनाशकारी बाढीको जोखिम बढ्न सक्ने बताइएको छ ।
हिमनदी भत्किने वा हिमपहिरो जाने घटनामा जलवायु परिवर्तनको भूमिका हुनसक्ने : हिमनदीविद्
बेलायतको डन्डी विश्वविद्यालयका वरिष्ठ उपप्राध्यापक तथा हिमनदीविद् साइमन कुकले उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किने घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तन प्रमुख कारण हुनसक्ने बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै कुकले उनका एक सहकर्मीले भूउपग्रह तस्बिरको अध्ययन गर्दा बाढी प्रभावित क्षेत्रनजिकै रहेको हिमनदीको तल्लो भाग हराएको पत्ता लगाएको बताए । उक्त अध्ययनले सो क्षेत्रमा ठूलो हिमपहिरो वा हिमनदी भत्किएको स्पष्ट संकेत गरेको उनको भनाइ छ ।
कुकले आफ्नो टोली घटनाको विशाल स्वरूप देखेर स्तब्ध भएको बताएका छन् । उनका अनुसार, पछिल्ला वर्षहरूमा हिमालय, स्विट्जरल्यान्ड तथा इटालीको डोलोमाइट्स क्षेत्रमा पनि यस्तै प्रकृतिका घटना देखिएका छन् ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण पहाडका चट्टानलाई अड्याएर राख्ने ‘पर्माफ्रोस्ट’ अर्थात् लामो समयसम्म जमेर रहेको माटो वा चट्टान पग्लिँदै र कमजोर हुँदै गएको कुकले बताएका छन् ।
उनका अनुसार, यस्तो वातावरणीय परिवर्तनले उच्च हिमाली क्षेत्रलाई थप अस्थिर बनाउँदै लगेको छ । त्यसका कारण पहिरो, लेदोको बहाव, हिमनदी पग्लिने, हिमताल फुट्ने तथा हिमनदी भत्किने जस्ता शृंखललाबद्ध विपद्को जोखिम बढ्न सक्छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्