काठमाडौं । कुमारी बैंकले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ। हालैको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको छ।
नेपाली सेनालाई एआई जडित ड्रोनसहित उपकरण
विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन कुमारी बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका विभिन्न अत्याधुनिक उपकरणसमेत उपलब्ध गराएको छ।
बैंकले पाँचवटा एआई जडित निगरानी ड्रोन, तीनवटा केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको जनाएको छ।
ती उपकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी सञ्चार, विद्युत् आपूर्ति तथा दुर्गम क्षेत्रमा खोजी कार्यका लागि ड्रोन र पोर्टेबल उपकरण उपयोगी हुने बताइएको छ।
राहत र पुनर्स्थापनामा सहयोग
कुमारी बैंकले प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिरहेको जनाएको छ।
विपद्को यस कठिन घडीमा सरकारी निकाय, सुरक्षा निकाय तथा अन्य सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै बैंकले राहत, उद्धार र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेको छ।
बैंकले आर्थिक सहयोगसँगै उद्धार तथा खोजी कार्यमा प्रत्यक्ष उपयोग हुने अत्याधुनिक उपकरण उपलब्ध गराएर विपद् प्रभावित क्षेत्रमा भइरहेको प्रतिकार्यलाई सहयोग पुर्याउने प्रयास गरेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्