काठमाडौँ । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी र नेपालका लागि यसको आधिकारिक वितरक साइमेक्स इङ्कले रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
कम्पनीका अनुसार उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालित सरकारी कोषमार्फत प्रभावित क्षेत्रमा उद्धार, उपचार, तत्काल राहत सामग्री वितरण, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा उपयोग गरिनेछ।
रसुवा नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका हुनुका साथै बीवाईडीका विद्युतीय सवारीसाधन नेपाल आयात हुने प्रमुख मार्गसमेत हो। बाढी तथा पहिरोबाट सो क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि दुवै कम्पनीले सहयोगको घोषणा गरेका हुन्।
बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिकका महाप्रबन्धक लियु कुएल्याङले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन समयमा प्रभावित परिवार, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण नेपाली जनताको साथमा रहेको बताएका छन्।
बीवाईडीले जारी गरेको प्रेस नोटमा उक्त सहयोगले सरकारी पुनःस्थापना प्रयासमा सहयोग पुग्ने र प्रभावित क्षेत्रको पुनरुत्थानमा योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।
बीवाईडीको नेपाल साझेदार साइमेक्स इङ्कले पनि विद्युतीय यातायात प्रणालीको विकाससँगै विपद्का कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै देश र जनताको साथमा उभिनु आफ्नो दायित्व भएको जनाएको छ।
राहत र पुनःस्थापनामा सहयोग
बीवाईडी र साइमेक्सले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहायता घोषणा गरेका हुन्।
दुवै कम्पनीले विपद्को सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रभावित समुदायको शीघ्र पुनरुत्थानको कामना गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्