सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सिन्धुपाल्चोकका २२४ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त जानकारी दिनुभएको हो।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार भोटेकोसी गाउँपालिकाका ६५ जना, बाह्रबिसे नगरपालिकाका ५९ जना, बलेफी गाउँपालिकाका २९ जना, जुगल गाउँपालिकाका १६ जना तथा चौतारा साँगाचोकगढी नगरपालिकाका १४ जना सम्पर्कविहीन भएका छन्।
त्यस्तै, मेलम्ची नगरपालिका र सुनकोशी गाउँपालिकाका १४–१४ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच जना, हेलम्बु गाउँपालिकाका चार जना तथा लिसङ्खुपाखर गाउँपालिकाका तीन जना सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार सिन्धुपाल्चोक हुँदै कैलाश मानसरोवर जाने विदेशी पर्यटकका गाइड तथा भरिया, व्यापारी, गोसाइँकुण्ड जाने तीर्थयात्री, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा रसुवा भन्सार कार्यालय आसपासका व्यापारिक गतिविधिमा संलग्न नागरिकसमेत सम्पर्कविहीन भएका छन्।
खोज तथा उद्धार जारी
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पठाउने तयारीसमेत गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्