काठमाडौं । जय नेपाल पार्टीले भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल खोजी, उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीका सभापति डा. धवलशम्सेर राणाको अध्यक्षतामा भदौ ११ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उद्धार तथा राहतका काम अघि बढाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
बैठकले भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।
पार्टीले बेपत्ता भएका तथा बाढी प्रभावित क्षेत्रमा फसेका नागरिक, सुरक्षाकर्मी, जलविद्युत् आयोजनामा कार्यरत श्रमिक, भन्सार कर्मचारी, आगन्तुक तथा पर्यटकको अविलम्ब खोजी तथा उद्धार गर्न माग गरेको छ।
सडक तथा सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा निजी क्षेत्रसमेत परिचालन गरी थप हेलिकोप्टर तथा ड्रोनमार्फत खोज तथा उद्धार कार्य तीव्र बनाउनुपर्ने पार्टीको माग छ।
राहत तथा उपचारको व्यवस्था गर्न माग
पार्टीले घरबारविहीन नागरिकका लागि सुरक्षित अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै त्रिपाल, स्वच्छ खानेपानी, तयारी खाना, कपडा, प्राथमिक उपचार तथा औषधि तत्काल उपलब्ध गराउन माग गरेको छ।
त्यस्तै, घाइतेहरूको काठमाडौं तथा स्थानीय अस्पतालमा निःशुल्क र प्रभावकारी उपचारको पूर्ण व्यवस्था गर्न सभापति राणाले सरकारसँग आग्रह गर्नुभएको छ।
पार्टीले राहत कोष स्थापना गरी खाद्यान्न, त्रिपाल, औषधिलगायत अत्यावश्यक सामग्री संकलन गरेर प्रभावित क्षेत्रमा पठाउने निर्णयसमेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्