काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा जिल्लामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा जिल्लामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको छ।
पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ। बाढीका कारण ४१ वटा पुलसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
सरकारसँग ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिज उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भाव्यताको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ। भारत र चीन सरकारले पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ।
पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ।
सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारका १० र निजी क्षेत्रका १० गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्