रसुवा । नेपाली सेनाले रसुवा जिल्लाका विभिन्न स्थानमा बाढीका कारण समस्यामा परेका नागरिकको उद्धार कार्य जारी राखेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले बिहीबार बिहानैदेखि हेलिकप्टर तथा पैदलमार्गबाट उद्धार गरिरहेको छ।
सेनाका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म टिमुरे, स्याफ्रुबेसी, धुन्चे र मैलुङ क्षेत्रबाट ५० जना विदेशी नागरिकसहित ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। यस्तै, २०० जनालाई पैदलमार्गबाट समेत उद्धार गरिएको सेनाले जनाएको छ।
वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट ३३८ जना घाइतेलाई उपचार सेवा प्रदान गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन तथा सैनिक डगसमेत परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यका लागि ४ हजार २०० भन्दा बढी नेपाली सेनाको टोली परिचालन गरिएको सेनाले जनाएको छ।
खोज, उद्धार र राहतमा सेना
नेपाली सेनाले समन्वयात्मक रूपमा घाइतेको खोजी, उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणको काम गरिरहेको छ।
यसैगरी, धादिङस्थित पृथ्वी राजमार्गमा बाढीले थुपारेको लेदो हटाएर सडक आवागमन सुचारु गराउन पनि सेना परिचालन गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्