सुर्खेत । नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
आज बसेको संसदीय दलको बैठकले बाढीमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बैठकले घाइतेको उपचार, बेपत्ता व्यक्तिको खोजी तथा बाढी प्रभावितको उद्धार र राहत वितरणलाई विशेष प्राथमिकतामा राख्न नेपाल सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
बैठकले भोटेकोशी बाढी प्रभावितका लागि संसदीय दलका प्रत्येक सदस्यबाट १५ हजार रुपैयाँका दरले संकलन गरी २ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
त्यस्तै, बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले समेत आर्थिक सहायता उपलब्ध गराउन बैठकले आग्रह गरेको छ।
सरकारसँग तत्काल सहयोगको आग्रह
कांग्रेस संसदीय दलले प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीको टोली परिचालन गर्न सरकारसँग आग्रह गरेको छ।
बाढीका कारण खानेपानी, आवास तथा यातायातका संरचनामा क्षति पुगेकाले तिनको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्