काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा जिल्लामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।
बाढीका कारण बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ। सरकारले लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कामलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
४१ पुल भत्किए, बेलिब्रिज जडानको तयारी
बाढीका कारण रसुवा जिल्लामा ४१ वटा पुल पूर्ण रूपमा भत्किएका छन्। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध गराएको छ।
आवश्यकता र सम्भाव्यताको मूल्याङ्कन गरी ती बेलिब्रिज जडानको काम तत्काल अघि बढाइएको छ। भारत र चीनले समेत आवश्यकताअनुसार बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
पृथ्वीराजमार्गलाई पहिलो प्राथमिकता
सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ। साथै, रसुवालाई पुनः सडक सञ्जालसँग जोड्न आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइएको छ।
सोही क्रममा बेत्रावतीमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन गर्न कठिनाइ हुने जनाइएको छ।
२० वटा उपकरण परिचालन
क्षतिग्रस्त सडक खुलाउने कामलाई तीव्रता दिन सरकारी १० तथा निजी क्षेत्रका थप १० गरी २० वटा उपकरण परिचालन गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणसँगै यातायात सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक काम तीव्र गतिमा भइरहेको छ।
बाढीले बेत्रावतीदेखि स्याफ्रुबेँसीसम्मको सडकखण्डमा ठूलो क्षति पुर्याएपछि स्थानीयवासीको यातायात सम्पर्क विच्छेद भएको छ। सडक अवरुद्ध हुँदा दैनिक जनजीवनसँगै व्यापार तथा व्यवसायसमेत प्रभावित भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्