रूपन्देही । रसुवामा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब तथा पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय सरकारसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट समेत सहयोग आवश्यक रहेकाले उक्त निर्णय गरिएको बताउनुभयो।
उहाँले विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार र राहतमा सहयोग गर्नु सबैको दायित्व भएकाले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो। साथै, अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार नगरभित्रका शिक्षक, जनप्रतिनिधि र कर्मचारीको तीन दिन बराबरको आधारभूत तलबबाट करिब २७ लाख रुपैयाँ तथा जनप्रतिनिधि र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी करिब ३० लाख रुपैयाँ विपद् उद्धार कोषमा जम्मा गरिनेछ।
नगरपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्