चितवन । विपद्को समयमा अमानवीय कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बुधबार तिब्बततर्फबाट आएको पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सोही भिडियोका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ।
भिडियो भाइरल भएपछि अनुसन्धान
प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा निकालिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।
भोटेकोसी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा विभिन्न स्थानमा शव फेला पर्ने क्रम जारी रहेका बेला भएको उक्त घटनाले व्यापक आलोचना निम्त्याएको थियो।
बाढी प्रभावित क्षेत्रबाट भेटिएका शवको पहिचान तथा व्यवस्थापनको काम भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता गतिविधिले पीडित परिवारलाई थप पीडा पुग्ने भन्दै प्रहरीले यस्ता घटनामाथि निगरानी बढाइएको जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति भए वा नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्