वाशिङ्टन, डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।
अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
“नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” ट्रम्पले भनेका छन्।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि आफूले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको ट्रम्पले बताएका छन्।
अमेरिकाको तत्काल सहयोग
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले भोटेकोशी बाढीपछि नेपालका लागि ५ लाख अमेरिकी डलर बराबरको तत्काल मानवीय सहायता घोषणा गरिसकेको छ। उक्त सहयोग आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सेवाका लागि परिचालन गरिने जनाइएको छ।
अमेरिकाले विपद् व्यवस्थापनमा सहयोग गर्न एक विपद् प्रतिक्रिया सल्लाहकारसमेत नेपाल पठाउने जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे नेपाली अधिकारी तथा स्थानीय निकायसँग समन्वय गरिरहेको छ।
भोटेकोशी बाढीपछि अमेरिका, भारत, चीन, बेलायतलगायत विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई राहत तथा उद्धारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्