रसुवा । चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ। चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पुष्टि गरेका छन्। प्रजिअ परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी दिएपछि भोटेकोसी तथा त्रिशूली नदी आसपासका नागरिकलाई सुरक्षित रहन सर्कुलर जारी गरिएको छ। नदीको आसपासका नागरिकलाई सुरक्षित रहन सर्कुलर जारी गरिसकेका छौँ।” छोचेन खोला र पुरेपु त्साङ्पो नदी त्रिशूली नदीका माथिल्ला सहायक नदी हुन्। ताल फुटेपछि ती नदी हुँदै नेपालतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले जोखिम उच्च रहेको स्थानीय प्रशासनले जनाएको छ। तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा नदी आसपासका सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ। यसअघि पनि चीनको तिब्बततर्फ बनेको प्राकृतिक बाँध तथा ताल फुट्दा भोटेकोसी नदी हुँदै रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो बाढी आएको थियो। त्यसबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पुनः ताल फुटेको सूचनाले जोखिम थप बढाएको छ। स्थानीय प्रशासनले नदीको पानीको बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले नदीकिनार, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित अग्लो स्थानमा रहन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्