काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेपछि नेपालतर्फ फेरि बाढीको जोखिम बढेको छ। नेपालको परराष्ट्र मन्त्रालयबाट प्राप्त सूचनाका आधारमा बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज बिहान १ः०३ बजे जारी गरेको सूचनामा भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको जानकारी प्राप्त भएको जनाएको छ। त्यसैले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म अर्को सूचना जारी नभएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। यसअघि भदौ १० गते पनि सोही क्षेत्रबाट आएको भीषण बाढी रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको थियो। उक्त बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको थियो। तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको अस्थायी तालमा पानीको मात्रा बढ्दै गएपछि अहिले पानी बाहिर बग्न थालेको जानकारी आएको हो। यससँगै भोटेकोसी हुँदै त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा रहेका बस्ती, उद्धार तथा राहतमा खटिएका टोली र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। नदीको बहाव बढेको अवस्थामा तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान र नदी किनारमा नजान सम्बन्धित निकायले अनुरोध गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्