काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मानिसको खोजी, उद्धार तथा राहतका लागि राज्य संयन्त्र पूर्ण रूपमा परिचालित भएको छ। बाढी प्रभावित क्षेत्रका करिब १२ हजार मानिसको खोजीका लागि शुक्रबार मध्यान्हसम्म १ हजार ५ सय ६७ जनाले ‘सेतु’ एपमार्फत सहयोग अनुरोध गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फाराममार्फत खोजीका लागि विवरण पठाइएकामध्ये १ सय ४४ जनासँग पुनः सम्पर्क स्थापित भइसकेको छ। यद्यपि, एउटै व्यक्तिका लागि एकभन्दा बढी निवेदन परेको हुन सक्ने भएकाले डुप्लिकेट विवरण हटाएर वास्तविक तथ्यांक तयार गर्ने काम भइरहेको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाउन सरकारका विभिन्न निकाय एकैसाथ परिचालित भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार बिहान नुवाकोटको विदुर क्षेत्र पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धारकर्मीसँग भेटपछि प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्।
उनले एक–एक नागरिकको जीवनरक्षा, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्राधिकरणमा केन्द्रित राज्य संयन्त्र
यता गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्री तथा सरकारी निकायका प्रतिनिधिहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा केन्द्रित भएर उद्धार र राहतको रणनीति तयार पारिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरूबीच प्राधिकरणमार्फत समन्वय भइरहेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, कानुनमन्त्री सोविता गौतम, युवा तथा श्रममन्त्री रामजी यादव, महिलामन्त्री सीता वादी तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहलगायत पनि उद्धार तथा राहतसम्बन्धी छलफलमा सहभागी छन्।
बाढी प्रभावित क्षेत्रमा रहेका सम्पर्कविहीन नागरिकको खोजीका लागि सांसदहरू पनि प्राधिकरण पुगेर आवश्यक विवरण उपलब्ध गराइरहेका छन्। उद्योगी–व्यवसायीले आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने क्रम पनि जारी रहेको छ भने विपद् व्यवस्थापनसम्बन्धी विज्ञहरूले प्राधिकरणलाई आवश्यक सुझाव दिइरहेका छन्।
आईटी टोलीमार्फत सम्पर्कविहीनको खोजी
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा रहेका मानिसको यथार्थ विवरण संकलन गर्न प्राधिकरणले विशेष आईटी टोली परिचालन गरेको छ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, नवप्रवर्तन मन्त्रालय तथा निजी क्षेत्रका प्राविधिक विज्ञहरू प्राधिकरणसँग समन्वय गरी तथ्यांक संकलनमा जुटेका छन्।
नेपाल टेलिकम र एनसेलका प्राविधिक तथा कर्मचारीहरूले पनि सम्पर्कविहीन व्यक्तिको पहिचान र खोजीमा सहयोग गरिरहेका छन्। बाढी आउनुअघि प्रभावित क्षेत्रमा नेटवर्कमा रहेका प्रयोगकर्ताको उपलब्ध विवरण विश्लेषण गरी सम्पर्कविहीन नागरिकको पहिचान गर्ने प्रयास भइरहेको छ।
उद्धार तथा राहत सामग्री आवश्यक स्थानमा छिटो पुर्याउन सरकारले उद्धारकर्मी, कमान्ड केन्द्र र फिल्डमा परिचालित सवारीसाधनलाई एउटै लाइभ नक्सामा जोड्ने उद्देश्यले ‘सेतु र्यापिड’ एप सञ्चालनमा ल्याएको छ।
सञ्चार सेवा पुनःस्थापनाको प्रयास
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको छ। अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकम र एनसेलले मर्मत तथा वैकल्पिक प्रणाली परिचालनलाई तीव्रता दिएका छन्।
प्रभावित क्षेत्रमा जेनेरेटर र सोलार प्रणालीसहितका पोर्टेबल मोबाइल टावर सञ्चालनमा ल्याएर सञ्चार सेवा विस्तार गर्ने प्रयास भइरहेको छ।
नेपाल टेलिकमले न्यौपानेचौर तथा राम्चे आसपासका क्षेत्रसहित किस्पाङ, काउले, ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्यान्जिनलगायत क्षेत्रमा सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
प्रभावित १५२ साइटमध्ये विभिन्न स्थानका साइटहरू क्रमशः सञ्चालनमा ल्याउने काम भइरहेको छ। बाँकी अवरुद्ध साइटको मर्मत तथा विद्युत् आपूर्तिको व्यवस्था गरी सेवा पुनःस्थापनाको प्रयास जारी रहेको नेपाल टेलिकमले जनाएको छ।
एनसेलले पनि नुवाकोट, रसुवा र धादिङमा अवरुद्ध भएका साइटहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको जनाएको छ। बट्टार, विदुर, खल्ते, देउराली, शिवालय डाँडा, सुनौला बजार, खड्का भञ्ज्याङ, महामण्डल र खल्चेत भञ्ज्याङलगायत क्षेत्रमा सेवा सञ्चालनमा आएको जनाइएको छ।
बट्टार बजार, भूमिडाँडा, पिपलटार, गोलजुङ र गतलाङका साइट पनि मर्मतपछि सञ्चालनमा ल्याइएको छ। प्रभावित क्षेत्रमा ब्याकअप प्रणालीमार्फत विद्युत् आपूर्ति गरी सञ्चार सेवा निरन्तरता दिने प्रयास भइरहेको छ।
प्राधिकरणले पोर्टेबल मोबाइल टावर तथा वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था गर्दै सञ्चार प्रणालीलाई क्रमशः सामान्य अवस्थामा फर्काउने तयारी गरिरहेको छ।
सञ्चार सञ्जाल पुनःस्थापित भएपछि नेटवर्कबाहिर रहेका सम्पर्कविहीन मानिसको थप तथ्यांक संकलन गरिने जनाइएको छ। साथै, स्याटलाइट तस्बिरको प्रयोगबाट बाढी प्रभावित क्षेत्रका घर तथा बस्तीको संख्या पहिचान गरी सम्पर्कविहीन नागरिकको वास्तविक संख्या यकिन गर्ने प्रयास पनि भइरहेको छ।
नेपाली मोबाइल नम्बर प्रयोग नगरेका विदेशी नागरिकको खोजीमा भने नेटवर्क ट्र्याकिङ चुनौतीपूर्ण बनेको प्राधिकरणका प्राविधिकहरूले बताएका छन्।
विनाशकारी बाढीपछि राज्यका सुरक्षा निकाय, सरकारी संयन्त्र, दूरसञ्चार सेवा प्रदायक, निजी क्षेत्र र विपद् विज्ञहरूबीच समन्वय गर्दै बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत वितरण तथा सञ्चार सेवा पुनःस्थापनाको कामलाई तीव्रता दिइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्