काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ११८ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ।
पर्यटन मन्त्रालयका अनुसार शुक्रबार दिउँसो साढे २ बजेसम्म विभिन्न देशका पर्यटकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै ८५ जना भारतीय नागरिक रहेका छन्। यस्तै, चीनका १६ जना, दक्षिण कोरियाका नौ जना पर्यटकलाई पनि सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, अमेरिका र इटालीका दुई–दुई जना पर्यटकको उद्धार गरिएको छ। उद्धार गरिएका थप तीन जना पर्यटकको भने पहिचान खुल्न बाँकी रहेको पर्यटन मन्त्रालयले जनाएको छ।
उनीहरूको परिचय खुलाउने प्रयास जारी रहेको र आवश्यक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
भोटेकोसी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा पर्यटक फसेपछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा पर्यटन क्षेत्रसँग सम्बद्ध निकायको समन्वयमा उद्धार टोली परिचालन गरिएको थियो।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको र जोखिममा रहेका अन्य व्यक्ति तथा पर्यटकको अवस्थाबारे पनि जानकारी संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्