काठमाडौं । वायुसेवा सञ्चालक संघका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले रसुवाको टिमुरे क्षेत्र तथा त्रिशूली नदी आसपास आएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
उहाँले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिनुभएका पाइलट, चालक दल, व्यवस्थापन, हेलिकप्टर सञ्चालक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गर्नुभएको छ।
नेपालमा विपद् वा संकट पर्दा हेलिकप्टर उड्डयन क्षेत्रले समुदायको सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै थापाले उद्धार कार्यमा अधिकतम क्षमता प्रयोग गर्न अपिल गर्नुभएको छ।
‘जहाँ आवश्यकता छ, त्यहाँ पुगौँ, जहाँ जीवन बचाउन सकिन्छ, त्यहाँ आफ्नो अधिक क्षमता प्रयोग गरौँ,’ विज्ञप्तिमार्फत उहाँले अपिल गर्नुभएको छ।
उहाँले उद्धार उडान व्यावसायिक विवेक, अनुभव र उच्चतम सुरक्षा मापदण्डका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ। कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण परिस्थितिमा हुने उद्धार उडानमा जोखिमको निरन्तर मूल्यांकन, मौसम तथा स्थल अवस्थाको सही विश्लेषण, उचित समन्वय र स्थापित उडान सुरक्षा प्रक्रिया पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
थापाले उद्धार कार्यलाई प्रभावकारी र दीर्घकालीन बनाउन उड्डयन सुरक्षाको उच्चतम मापदण्ड कायम गर्नुपर्ने बताउनुभएको छ।
उहाँले उद्धार कार्यका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल आयल निगमलाई आवश्यक सहजीकरण गरिदिन अनुरोध गर्नुभएको छ।
संकटको समयमा नागरिकको जीवनरक्षाका लागि आफ्नो सीप, अनुभव र स्रोतसाधन परिचालन गर्नु नेपाली उड्डयन क्षेत्रको परम्परा रहेको स्मरण गराउँदै थापाले विपद्को समयमा सबै पक्ष एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताउनुभएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्