काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका निम्ति सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ । शनिबार (भदौ १३) बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टनेलभित्र मानिस फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो ।
सुरुङको मुख खोतल्न र खोजीकार्यलाई गति दिनका निम्ति शुक्रबार (भदौ १२) रातिदेखि नै नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ । उक्त क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबीच, उद्धार सहायताका निम्ति आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको जनाइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्