बाजुरा । परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोगलाई निरन्तरता दिन तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्ने उद्देश्यले बाजुराका १५६ किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत प्रतिमानव पाँच हजार रुपैयाँका दरले किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
कृषि क्षेत्रमा प्रविधि तथा यान्त्रिकीकरणको प्रयोग बढ्दै गएपछि गोरु पाल्ने क्रम घट्दै गएको अवस्थामा परम्परागत कृषि प्रणाली जोगाउन किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।
नौ स्थानीय तहका किसान लाभान्वित
प्रोत्साहन रकम पाउने किसानमा स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना छन् ।
कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहबाट ४०० किसानले आवेदन दिएका थिए । आवश्यक कागजात जाँच गरी २०० किसान छनोट गरिए पनि असार २५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेका १५६ जनालाई मात्रै रकम उपलब्ध गराइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिए ।
उनका अनुसार छनोटमा घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिइएको थियो ।
‘घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिएर छनोट गरी रकम उपलब्ध गराएका छौँ,’ जैशीले भने ।
दुर्गम किसानलाई पालिकामै कागजात बुझाउने व्यवस्था
भौगोलिक विकटताका कारण किसानलाई सदरमुकामसम्म आएर आवश्यक प्रक्रिया पूरा गर्न कठिन हुने भएकाले केन्द्रले सम्बन्धित पालिकामै कागजात बुझाउने व्यवस्था गरेको थियो ।
जैशीका अनुसार दुर्गम गाउँका किसानलाई सहज होस् भन्ने उद्देश्यले स्थानीय तहसँग समन्वय गरी आवश्यक कागजात पालिकामै बुझाउने व्यवस्था मिलाइएको थियो ।
यसबाट बाजुराका विकट क्षेत्रमा गोरु पालन गर्दै आएका किसानलाई समेत कार्यक्रममा सहभागी हुन सहज भएको केन्द्रको भनाइ छ ।
गोरु पालन संरक्षणमा जोड
कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग बढ्दै जाँदा गोरुको प्रयोग क्रमशः घटिरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले परम्परागत कृषि प्रणालीसँग जोडिएको पशुपालनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गोरु बाजुराका ग्रामीण तथा विकट क्षेत्रमा खेत जोत्न प्रयोग हुने प्रमुख पशुशक्तिका रूपमा रहँदै आएको छ । यान्त्रिकीकरणको पहुँच सीमित रहेका क्षेत्रमा अझै पनि किसान परम्परागत रूपमा गोरुको प्रयोग गर्दै आएका छन् ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्