काठमाडौं । सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा गुराँसजस्तै देखिने एउटा वनस्पतिको वैज्ञानिक पहिचानबारे लामो समयदेखि रहेको भ्रम अन्ततः सच्याइएको छ । अन्तर्राष्ट्रियस्तरमै महत्वपूर्ण मानिने रोयल बोटानिकल गार्डेन्स, क्युको ‘प्लान्ट्स अफ द वर्ल्ड अनलाइन’ (पीओडब्लुओ) ले सङ्खुवासभामा पाइने उक्त वनस्पतिलाई गुराँस वंशबाट हटाएर यसको मौलिक वैज्ञानिक नाम ‘डिप्लोर्चे मल्टिफ्लोरा’ (Diplarche multiflora) पुनः कायम गरेको हो ।
यसअघि करिब १५ वर्षदेखि उक्त वनस्पतिलाई ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ (Rhododendron chamberlainii) का रूपमा अभिलेख गरिएको थियो । नेपालमा प्रकाशित वनस्पति सम्बन्धी पुस्तकहरूमा समेत यही नाम समावेश हुँदै आएको थियो । तर, फूलको संरचना, प्रजनन अङ्ग र डीएनएसम्बन्धी प्रमाणका आधारमा उक्त वनस्पति गुराँस नभएको दाबी उठेपछि यसको वर्गीकरण पुनरावलोकन गरिएको हो ।
वनस्पति अध्येता तथा लेखकले १६ अगस्ट २०२६ मा पीओडब्लुओको सम्पादक मण्डललाई पत्र पठाउँदै ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’को वर्गीकरण पुनर्विचार गर्न आग्रह गरेका थिए । पत्रमा फूलको संरचनात्मक विशेषता र डीएनएसम्बन्धी प्रकाशित प्रमाण प्रस्तुत गरिएको थियो ।
पत्र पठाएको करिब १७ घण्टामै पीओडब्लुओबाट जवाफ आएको थियो । त्यसमा डिप्लोर्चे वंशलाई छुट्टै मान्य वंशका रूपमा स्वीकार गर्नुपर्नेविषयमा सहमति जनाइएको थियो । पछि २४ अगस्ट २०२६ को डेटा अद्यावधिकमा ‘डिप्लोर्चे मल्टिफ्लोरा’लाई स्वीकृत नाम र ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’लाई पर्यायवाची नामका रूपमा राखिएको हो ।
गुराँसजस्तै देखिन्छ, तर गुराँस होइन
डिप्लोर्चे मल्टिफ्लोरा बाहिरी रूपमा गुराँससँग निकै मिल्दोजुल्दो देखिन्छ । गुलाबी रङका घण्टी आकारका फूलका कारण टाढाबाट हेर्दा यसलाई गुराँस ठान्न सजिलो हुन्छ । तर, नजिकबाट फूलको संरचना तथा प्रजनन अङ्ग नियाल्दा फरक पहिचान गर्न सकिने अध्येताको अनुभव छ ।
यसको वैज्ञानिक पहिचानमा आनुवंशिक प्रमाण महत्वपूर्ण आधार बनेको छ । सन् २०११ मा लिन्डली एलन क्रेभेनले डिप्लोर्चे र गुराँसबीचको ‘बारकोडिङ मार्कर’ अध्ययन गरेका थिए । त्यसमा ९३ देखि ९६ प्रतिशतसम्म अनुक्रम समानता देखिए पनि बाँकी आनुवंशिक दूरी वनस्पति वर्गीकरणका दृष्टिले महत्वपूर्ण रहेको उल्लेख छ । पछिल्ला अध्ययनमा डिप्लोर्चेको डीएनएको ‘आईटीएस’ खण्ड गुराँससँग स्पष्ट रूपमा फरक देखिएको छ ।
फूलको संरचनाले पनि दुई वंशबीच स्पष्ट भिन्नता देखाउँछ । डिप्लोर्चेको पुंकेसर पुष्पपत्रको भित्री मध्यभागभन्दा केही तलबाट निस्कने इपिपेटलससंरचना हुन्छ । त्यस्तै, यसको परागकण थैली परिपक्व भएपछि दुईतिर चिरिएर परागकण बाहिरिन्छन् । गुराँसका प्रजातिमा भने परागकण थैलीको टुप्पोमा रहेको छिद्रबाट परागकण बाहिरिने संरचना हुन्छ ।
२०११ को वर्गीकरणले जन्माएको भ्रम
डिप्लोर्चे मल्टिफ्लोरालाई गुराँस वंशमा राख्ने प्रक्रिया सन् २०११ मा सुरु भएको थियो । लिन्डली एलन क्रेभेनले डीएनएको आनुवंशिक सिक्वेन्सिङका आधारमा डिप्लोर्चे वंशका दुई प्रजातिलाई गुराँस वंशमा स्थानान्तरण गरेका थिए । त्यसपछि ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ नाम अन्तर्राष्ट्रिय वनस्पति सूचना प्रणालीमा प्रवेश गरेको थियो ।
अन्तर्राष्ट्रिय वनस्पति नामकरणसम्बन्धी नियमअनुसार पछिल्लो प्रकाशित नामलाई स्वीकृत नामका रूपमा प्रयोग गर्ने अभ्यासका कारण पीओडब्लुओमा पनि ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ समावेश भएको थियो । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय अभिलेखलाई आधार मानेर प्रकाशित सामग्रीमा उक्त नाम प्रयोग भएको देखिन्छ ।
नेपालको वनस्पति विभागअन्तर्गत प्रकाशित ‘अ ह्यान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ को सन् २०२१ मा प्रकाशित तेस्रो खण्डमा ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ समावेश गरिएको थियो । त्यसैगरी सन् २०२२ मा प्रकाशित ‘प्लान्ट्स अफ नेपाल’ मा पनि यही नाम प्रयोग भएको थियो । त्यसबेला अन्तर्राष्ट्रिय वर्गीकरणमा यही नाम स्वीकृत रहेकाले पुस्तकमा समावेश हुनु अस्वाभाविक नभएको अध्येताको विश्लेषण छ ।
तर अहिले पीओडब्लुओले वर्गीकरण सच्याएपछि नेपालमा प्रकाशित पुस्तक, हर्बेरियम अभिलेख, अनुसन्धान सामग्री तथा अन्य डिजिटल डेटाबेसमा समेत आवश्यक सुधार गर्नुपर्ने देखिएको छ । वैज्ञानिक नाममा भएको परिवर्तनले त्यससँग जोडिएका वितरण, अनुसन्धान र संरक्षणसम्बन्धी तथ्याङ्कलाई समेत प्रभावित गर्न सक्छ ।
वनस्पतिको वैज्ञानिक नाम केवल एउटा नाम मात्र होइन । संसारभर एउटै प्रजातिलाई एउटै पहिचानबाट बुझ्न वैज्ञानिक नाम प्रयोग गरिन्छ । त्यसैले नाममा हुने त्रुटिले अनुसन्धान, संरक्षण, जैविक विविधताको अभिलेख र विद्यार्थीको अध्ययनसम्म असर पार्न सक्छ ।
वनस्पतिको वैज्ञानिक नामकरणलाई व्यवस्थित गर्न अन्तर्राष्ट्रिय वनस्पति नामकरण नियम स्थापित गरिएको छ । वैज्ञानिक नाममा पहिलो शब्दले वंश र दोस्रोले प्रजातीय पहिचान जनाउँछ । नामकरणमा ल्याटिन तथा प्राचीन ग्रिक भाषाका शब्द प्रयोग गर्ने परम्परा छ ।
‘गुराँस नचिन्ने विज्ञ’देखि अन्तर्राष्ट्रिय सुधारसम्म
यो वर्गीकरणबारे प्रश्न भने आज मात्र उठेको होइन । सन् २०२२ मा ‘गुराँस नचिन्ने विज्ञ’ शीर्षकमा यस विषयमा लेखसमेत प्रकाशित भएको थियो । तर, अन्तर्राष्ट्रियस्तरमा ‘रोडोडेन्ड्रन च्याम्बरलैनी’ नै स्वीकृत नामका रूपमा कायम रहेकाले तत्कालै व्यापक प्रतिक्रिया आएन ।
यसबीच सन् २०१५ मै प्रकाशित अर्को अनुसन्धानले डिप्लोर्चे वंशका दुई प्रजातिलाई एकै प्रजाति ‘डिप्लोर्चे मल्टिफ्लोरा’ मा समायोजन गरेको थियो । तर, उक्त निष्कर्ष पनि पीओडब्लुओको अभिलेखमा तत्काल प्रतिबिम्बित हुन सकेन ।
यो घटनाले वैज्ञानिक अनुसन्धानमा कुनै संस्था वा विज्ञले स्वीकार गरेको तथ्यलाई अन्तिम सत्यका रूपमा लिन नहुने सन्देश पनि दिएको छ । प्रमाण बलियो भए स्थापित वर्गीकरणमाथि प्रश्न उठाउन सकिन्छ र नयाँ प्रमाणका आधारमा त्यसलाई सच्याउन सकिन्छ ।
पीओडब्लुओले छोटो समयमै पुनरावलोकन गरी वर्गीकरण सच्याउनु वैज्ञानिक अभिलेख अद्यावधिक गर्ने प्रक्रियाको महत्वपूर्ण उदाहरण बनेको छ । अध्येताका अनुसार यसको उद्देश्य व्यक्तिगत दाबी स्थापित गर्नु नभई प्रकाशित वैज्ञानिक प्रमाणका आधारमा तथ्य पुनरावलोकन गराउनु थियो ।
अब अन्तर्राष्ट्रिय अभिलेखमा सच्याइएको यो पहिचान नेपालका वनस्पति सम्बन्धी पुस्तक, अनुसन्धान, हर्बेरियम तथा अन्य अभिलेखमा पनि अद्यावधिक गर्नु अर्को महत्वपूर्ण काम हुनेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्