काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोसी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ ।
भारी तथा धेरै भारी वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न, पहाडी क्षेत्रमा पहिरो तथा भू–क्षय हुन र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्