त्रिशूली । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा अलपत्र परेका तथा सुरक्षित स्थानमा आश्रय लिएर बसेका तीन हजार २९ जनाको उद्धारगरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये दुई हजार ७७६ जना नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामै ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो।
उहाँका अनुसार बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिएर बसेकाहरूलाई प्राथमिकताका आधारमा हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
“बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो,” प्रजिअ रेग्मीले भन्नुभयो, “उनीहरूको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोहीअनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ।”
सुरुङबाहेकको उद्धार जारी
भोटेकोसी बाढीपछि अलपत्र परेकाहरूको उद्धार कार्य अझै जारी छ। जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिबाहेक अन्य स्थानमा रहेका नागरिकको उद्धारलाई प्राथमिकता दिइएको छ।
रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ लगायतका क्षेत्रमा अझै मानिसहरू फसेको हुन सक्ने आशंकामा नियमित रूपमा हेलिकोप्टरबाट रेकी भइरहेको प्रजिअ रेग्मीले बताउनुभयो।
१,५५८ जनाको खोजीका लागि निवेदन
यसैबीच, भोटेकोसी बाढीमा आफन्त हराएको भन्दै एक हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ।
नुवाकोट र रसुवाका विभिन्न स्थानबाट आफ्ना आफन्त सम्पर्कविहीन भएको जानकारी दिँदै परिवारहरूले खोजीका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिनुभयो।
हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
बाढीमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारका लागि सुरक्षा निकायले हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरा समेत परिचालन गरेको छ।
नुवाकोटमा ९५ शव संकलन
भोटेकोसी बाढीमा परी ज्यान गुमाएकामध्ये नुवाकोटमा मात्रै हालसम्म ९५ जनाको शव संकलन गरिएको छ।
जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव फेला पारिएको प्रहरीले जनाएको छ।
संकलित शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौंस्थित शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
प्रहरीले आफ्ना आफन्त हराइरहेको वा बेपत्ता भएको आशंका भएका परिवारलाई अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरिएको शवको विवरणसँग मिलान गर्न आग्रह गरेको छ।
बाढीपछिको उद्धारसँगै अब बेपत्ताको खोजी र शव पहिचान राज्यका लागि अर्को ठूलो चुनौती बनेको छ। रसुवा र नुवाकोटका नदी किनार, बस्ती तथा जलविद्युत् आयोजनामा खोजी जारी रहेकाले प्रभावित परिवारहरू अझै पनि आफ्ना आफन्त सुरक्षित भेटिने आशामा पर्खिरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्