काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ।
भदौ १० गते बिहान आएको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ।
सम्पर्कविहीनहरूको खोजीका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली आयोजनास्थलमा परिचालन गरी हवाई रेकी तथा खोजी कार्य अघि बढाइएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन्। त्यस्तै, दुई जना ज्यालादारी कर्मचारी, निर्माण कार्यमा संलग्न शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना सम्पर्कविहीन छन्।
डिसेन्डरमा फसेका चार जनाको उद्धार
बाढीका क्रममा आयोजनाको भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना भने करिब दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए।
उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको थियो।
तर आयोजनास्थलमा अझै ठूलो संख्यामा व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको अवस्था पत्ता लगाउन खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ।
बाढी र त्यसपछि उत्पन्न भौगोलिक जोखिमका कारण आयोजनास्थलमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सरकारले प्राविधिक तथा विज्ञ टोलीको सहयोगमा स्थल तथा हवाई माध्यमबाट सम्पर्कविहीनहरूको खोजी अघि बढाइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्