काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नेपालका रसुवा, नुवाकोट र धादिङमा मानवीय सहायता तथा विपद् उद्धारका लागि अस्ट्रेलिया सरकारले राहत सामग्री, उपकरणसहितको जनशक्ति पठाउने भएको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि अस्ट्रेलियाले रोयल अस्ट्रेलियन एयर फोर्सको सी–१७ए ग्लोबमास्टर–३ विमानमार्फत अत्यावश्यक राहत सामग्री तथा उपकरणसहितको जनशक्ति नेपाल पठाउने तयारी गरेको हो । सहयोगको पहिलो खेप आगामी केही दिनमा क्विन्सल्यान्डबाट नेपाल ल्याउने तयारी भइरहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ ।
अस्ट्रेलिया सरकारले बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । यो बाढीपछिको अस्ट्रेलियाली सहयोगको दोस्रो चरण हो ।
थप सहयोगमध्ये २० लाख अस्ट्रेलियन डलर बराबरको रकम हाइजिन किट, सौर्य बत्ती तथा अन्य अत्यावश्यक आपत्कालीन सामग्री उपलब्ध गराउन छुट्याइएको छ । नेपाल सरकारले अस्ट्रेलियासँग यस्ता सामग्री उपलब्ध गराउन अनुरोध गरेको थियो ।
बाढीपछि ४२ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । यद्यपि नेपाल पर्यटन बोर्डले भने ३५ जना अस्ट्रेलियाली पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ । उनीहरूको अवस्था यकिन गर्न तथा परिवार र आफन्तलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाली अधिकारीले नेपाली उद्धार टोलीसँग समन्वय गरिरहेका छन् ।
संकट व्यवस्थापन, कन्सुलर सेवा तथा अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) का अधिकारीसहित १२ सदस्यीय अस्ट्रेलियाली उद्धार तथा प्रतिक्रिया टोली अहिले काठमाडौंमा रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
यसैबीच बाढीपछि अस्ट्रेलियाली सर्वसाधारणबाट हालसम्म १४ लाख अस्ट्रेलियन डलर सहयोग संकलन भएको छ । त्यसमा थप गर्दै अस्ट्रेलिया सरकारले थप १० लाख अस्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ ।
थप सरकारी सहयोगसहित अस्ट्रेलिया सरकारको योगदान २० लाख अस्ट्रेलियन डलर पुग्नेछ । उक्त रकम अस्ट्रेलियाली गैरसरकारी संस्थाका साझेदारमार्फत स्थानीय संस्थासँगको सहकार्यमा प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि परिचालन गरिनेछ ।
नयाँ सहयोगसहित भोटेकोसी बाढी प्रभावितका लागि अस्ट्रेलिया सरकारले उपलब्ध गराउने कुल मानवीय सहायता ८० लाख अस्ट्रेलियन डलर पुग्ने भएको छ ।
अस्ट्रेलिया सरकारले नेपाल सरकारसँग निरन्तर समन्वय र संवाद गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रको आवश्यकता हेरेर आगामी दिनमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत अस्ट्रेलियाले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्