काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ।
सोमबार (भदौ १५) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्री बालेन रास्वपाका वरिष्ठ नेतासमेत हुन्। भेटवार्तालाई बाढीपछिको उद्धार तथा राहत व्यवस्थापन र आगामी पुनर्स्थापनाका विषयमा पार्टीभित्रको छलफलका रूपमा समेत हेरिएको छ।
भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्म ९०० भन्दा बढीको मृत्यु भइसकेको र ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ।
बाढीबाट जलविद्युत् आयोजना, सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। संकटग्रस्त क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने र विस्थापितको पुनर्स्थापनाबारे सरकारमाथि दबाब बढिरहेका बेला बालेन र लामिछानेबीच भेटवार्ता भएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्