काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र ढुंगे क्षेत्रमा करिब ४०० घरमा पूर्ण तथा आंशिक क्षतिपुर्याएको छ। धेरै घर बाढीले पूर्ण रूपमा बगाएको छ भने बाँकी रहेका कतिपय घरसमेत बस्न तथा प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्।
विदुर नगरपालिकाअन्तर्गत पर्ने उक्त क्षेत्रको अधिकांश भूभाग वडा नम्बर–१ मा पर्छ। वडाध्यक्ष लेलिन रञ्जितका अनुसार त्रिशूली नदीको वारि र पारि गरी करिब ४०० घर प्रभावित भएका छन्।
उनका अनुसार त्रिशूली बजारपारि ६३ जना र वारि ९ जना गरी ७२ जना अझै सम्पर्कविहीन छन्।
‘समयमै उद्धार भएको भए धेरैलाई बचाउन सकिन्थ्यो’
वडाध्यक्ष रञ्जितले बाढीको सुरुआती दिनमा संघीय सरकारका निकायले स्थानीय तहसँग प्रभावकारी समन्वय नगरेको गुनासो गरे। उद्धारमा भएको ढिलाइले मानवीय क्षति बढेको हुनसक्ने उनको भनाइ छ।
“पुल बगाएपछि हाम्रो पारितर्फको पहुँच टुटिहाल्यो। प्रमुख जिल्ला अधिकारी सेनाको ब्यारेकभित्रै हुनुभयो, धेरैपटक भेट्न खोज्दा सम्भव नै भएन।”
उनका अनुसार शनिबारदेखि मात्रै सशस्त्र प्रहरीको टोली त्रिशूली बजार क्षेत्रमा परिचालन भएको थियो। त्यसयता घरभित्रै १० जनाको शव फेला परेकोउनले बताए।
रञ्जितले उद्धार टोली समयमै परिचालन भएको भए घरभित्र फसेका कतिपय व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने अवस्था रहेको दाबी गरे।
“सेनाको हेलिकोप्टर उडिरह्यो, यही बजार क्षेत्रमा उद्धारको प्रयास नै भएन। खाली रसुवामा धेरै ठूलो क्षति भएको छ भन्दै हेलिकोप्टर उडाइराखियो।”
विद्यार्थी र बिरामीलाई हेलिकोप्टरबाट उद्धार
त्रिशूली नदीमाथिको पुल बगेपछि बजारका दुवै किनारबीच सम्पर्क विच्छेद भएको थियो। वारि रहेका विद्यार्थीलाई पारि र पारि रहेका विद्यार्थीलाई वारि ल्याउन समेत शनिबारसम्म कुर्नुपरेको वडाध्यक्ष रञ्जितले बताए।
सेनाको हेलिकोप्टरमार्फत विद्यार्थी तथा अशक्त बिरामीको समेत उद्धार गरिएको उनले जानकारी दिए।
विदुर–१ त्रिशूली बजार क्षेत्रबाट बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म १० जनाको शव फेला परेको र बाँकीको अवस्था अझै अज्ञात रहेको उनले बताए।
राहतमा पनि स्थानीय तहकै भर
वडाध्यक्ष रञ्जितका अनुसार संघीय सरकारबाट आएको राहत प्रभावित परिवारसम्म अपेक्षाअनुसार पुग्न सकेको छैन।
त्रिशूलीपारिको कलौनी क्षेत्रमा धादिङबेँसीतर्फबाट लगिएको दुई ट्रक राहत सामग्री संघीय सांसदमार्फत वितरण गरिएको उनले बताए। त्यसबाहेक स्थानीय तहले नै राहत वितरण गरिरहेको उनको भनाइ छ।
विभिन्न संघसंस्थासँग समन्वय गरेर अधिकांश प्रभावित क्षेत्रमा राहत पुर्याइएको उनले जानकारी दिए।
‘संघ सरकारको उपस्थिति चाहियो’
त्रिशूली नदी वारपार गर्ने पुल बगेसँगै नदीपारिको ठूलो भूभाग सडक सम्पर्कबाट पूर्ण रूपमा अलग भएको छ। अब प्रभावित क्षेत्रमा संघीय सरकारको प्रभावकारी उपस्थिति आवश्यक रहेको वडाध्यक्ष रञ्जितको भनाइ छ।
“संघीय सरकारले स्थानीय तहसँग समन्वय गर्न नै आनाकानी गर्यो। जीवन बचाउन गरिने उद्धारका विषय पनि सिरियसली नलिइदिँदा त्रिशूलीपारि बजारमा घरभित्रै मानिसको ज्यान गयो।”
यद्यपि अहिले संघीय सरकार र स्थानीय तहबीच समन्वय सुरु भएको उनले बताए।
बेलीब्रिज र विद्यालयको विकल्प माग
बाढीबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रलाई पुनः सडक सञ्जालमा जोड्न त्रिशूली नदीमा तत्काल बेलीब्रिज निर्माण गर्नवडाध्यक्ष रञ्जितले संघीय सरकारसँग माग गरेका छन्।
उनका अनुसार बेलीब्रिज बने मध्यपहाडी राजमार्ग हुँदै गोरखासम्मको यातायात पहुँच विस्तार गर्न सकिनेछ। अन्यथा नदीपारिको क्षेत्रमा खाद्यान्न अभावसमेत हुनसक्ने उनले चेतावनी दिए।
बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयसमेत बगाएपछि विद्यार्थीको पठनपाठन सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्न संघीय सरकारसँग उनले आग्रह गरेका छन्।
बाढीपछि घर भाडामा लिएर बस्दै आएका तथा आफैं घर खोजेर बसेका केही मानिससमेत अझै सम्पर्कमा नआएको उनले बताए। बिचल्लीमा परेका प्रभावितलाई भैरव माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टरमा राखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्