पोखरा । भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनको संख्या निरन्तर घटबढ भइरहेको छ ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहतलाई एकसाथ अघि बढाइएको छ । प्रभावित रसुवा, नुवाकोट र धादिङमा सुरक्षा निकायका साथै प्रदेश तथा स्थानीय सरकार पनि परिचालन भएका छन् ।
राहत वितरणमा तीन तहका सरकारको समन्वय
प्रधानमन्त्रीका अनुसार रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याइएको छ । राहत सामग्री देशका विभिन्न स्थानबाट संकलन गरी प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको छ ।
सरकारले राहत तथा उद्धारका लागि भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मुलुकबाट सहयोग प्राप्त भएको जनाएको छ ।
राहत कोषमा करिब ६ अर्ब
प्रधानमन्त्री राहत कोषमा सोमबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले बताएका छन् ।
यस्तै हिमालयन र लक्ष्मी बैंकमा गरी ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । विभिन्न देश तथा संघसंस्थाले थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको सरकारले जनाएको छ ।
सडक र पुल पुनःस्थापनामा जोड
बाढीका कारण अवरुद्ध नुवाकोटको त्रिशूलीपारिको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्री शाहले बताएका छन् । गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएको छ ।
रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुल भत्किएकाले सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको छ ।
सरकारसँग ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटरको एउटा बेलिब्रिज रहेको छ । देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको प्रधानमन्त्रीले बताएका छन् ।
भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको तथा थप ७ वटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ । चीनबाट पनि ३० वटा बेलिब्रिज प्राप्त हुने सरकारले जनाएको छ ।
विद्युत् र सञ्चार सेवा पुनःस्थापनामा प्रगति
रसुवामा बाढीपछि अवरुद्ध विद्युत् सेवा करिब ३० प्रतिशत घरधुरीमा पुनःस्थापना भएको छ । बाँकी क्षेत्रमा घरायसी प्रयोजनका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ ।
नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ भने बाँकी १५ प्रतिशत क्षेत्रमा पाँच दिनभित्र सेवा पुर्याउने गरी काम भइरहेको छ ।
धादिङमा पनि करिब ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भएको र बाँकी क्षेत्रमा दुई दिनभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको प्रधानमन्त्रीले बताएका छन् ।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् ।
जलविद्युत् आयोजनामा पनि खोजी जारी
बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन रहेको आशंकामा खोज तथा उद्धार जारी छ । नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको प्रधानमन्त्रीले बताएका छन् ।
रसुवागढी आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ । सुरुङको भित्री भागसम्म नेपाली र चिनियाँ सेनाको संयुक्त टोलीले खोजी गरे पनि मानिस नभेटिएपछि टोली फर्किएको छ ।
लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगै भारतीय उद्धार टोली र नेपाली सहयोगीले सुरुङको मुख खोल्ने काम गरिरहेका छन् ।
माथिल्लो त्रिशूली–१ आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ भने सुरुङभित्र खोजी जारी छ । त्यहाँ नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेका छन् ।
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ९० जनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ । माथिल्लो त्रिशूली–३ ‘बी’बाट दुई जनाको उद्धार भइसकेको छ ।
९३९ शव फेला
बाढीका कारण ज्यान गुमाएका तथा पहिचान हुन नसकेका शवको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन भइरहेको सरकारले जनाएको छ ।
प्रधानमन्त्री शाहका अनुसार हालसम्म ९३९ जनाको शव फेला परेको छ । पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवको डीएनए लगायतका आधार सुरक्षित राखेर कानुनबमोजिम व्यवस्थापन गर्ने काम भइरहेको छ ।
पुनःस्थापनाको तयारी
सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाको कामबारे पनि छलफल अघि बढाएको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
हजारौँ नागरिकले घर, परिवार, आफन्त र सम्पत्ति गुमाएको उल्लेख गर्दै उनले प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापित गर्नु सरकारको अबको प्राथमिकता भएको बताएका छन् ।
प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य प्राकृतिक विपद् नभई हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको बताएका छन् । यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय बलियो रूपमा उठाउनुपर्ने समय आएको उनको भनाइ छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्