काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीसहितका व्यक्तिलाई अदालतबाट भएको अन्तिम सजाय माफी मिनाहा दिनेगरी सरकारले गरेको निर्णयको सक्कल फाइल पेस गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार सरकारलाई निर्णयसहितको सक्कल फाइल पेस गर्न आदेश दिएको हो। सर्वोच्चले आगामी असोज ६ गतेको सुनुवाइअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उक्त फाइल पेस गर्न भनेको छ।
माफी मिनाहासम्बन्धी निर्णयविरुद्ध पीडित पक्षबाट दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। यसअघि पनि निर्णयसहितको सक्कल फाइल पेस गर्न आदेश दिइएको थियो। तर आदेशअनुसार फाइल पेस नभएपछि सर्वोच्चले पुनः दोस्रोपटक आदेश जारी गरेको हो।
सरकारले २०८० जेठ १२ गते चौधरीलगायतका व्यक्तिलाई अदालतबाट भएको सजाय माफी मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णय रोक्न माग गर्दै पीडित पक्षले सर्वोच्चमा रिट दायर गरेका थिए।
यस प्रकरणमा सर्वोच्चले असोज ६ गते पुनः सुनुवाइका लागि पेसी तोकेको छ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। घटनामा ३६ जना सुरक्षाकर्मी घाइते भएका थिए।
टीकापुर घटनामा दोषी ठहर भएका चौधरीसहितका व्यक्तिलाई सरकारले सजाय माफी मिनाहा दिएपछि मृतक प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्