सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले आफूले दर्ता गराएको गैरसरकारी विधेयक प्रदेशसभा बैठकको कार्यसूचीमा नपारेको भन्दै सदनमै विरोध जनाएका छन्।
मंगलबार बसेको कर्णाली प्रदेशसभा बैठकमा शर्माले पलेँटी कसेर बसेर विरोध जनाएका हुन्।
शर्माका अनुसार उनले गत साउन १२ गते सभामुखसमक्ष ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’गैरसरकारी विधेयकका रूपमा प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।
तर लामो समय बितिसक्दा पनि विधेयकलाई छलफलको कार्यसूचीमा नल्याइएको भन्दै उनले प्रदेशसभा बैठकमा आपत्ति जनाए।
उनले गैरसरकारी विधेयकका रूपमा विधिवत् दर्ता भएको विधेयकमाथि सदनमा छलफल गर्ने वातावरण नबनाइएको, कार्यसूचीमा समावेश नगरिएको र आफूलाई विधेयकमाथि बहस गर्नसमेत अवसर नदिइएको गुनासो गरे।
“यो विधेयकलाई जसरी डम्पिङ गरिएको छ, त्यसप्रति म आपत्ति प्रकट गर्न चाहन्छु,” शर्माले भने, “सदनमा बहस नहुन्जेलसम्म म यसलाई उठाइरहनेछु।”
आफ्नो विधेयकलाई छलफलमा ल्याउन माग गर्दै उनले त्यसपछि प्रदेशसभा बैठक कक्षमै पलेँटी कसेर विरोध प्रदर्शन गरे।
शर्माको विरोधपछि कर्णाली प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
पूर्वमुख्यमन्त्री शर्माले गैरसरकारी विधेयक पनि प्रदेशसभाको प्रक्रियाअनुसार छलफल र निर्णयको विषय बन्नुपर्ने भन्दै आफ्नो विधेयकलाई बेवास्ता गरिएकोप्रति असन्तुष्टि जनाएका छन्।
Originally published on abcnews.com.np.





प्रतिक्रिया दिनुहोस्