काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि टनेलभित्र फसेकाहरूको उद्धार विशेष र जटिल प्रकृतिको रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण टनेल हिलो र माटोले पूर्णरूपमा भरिएकाले अन्य देशमा हुने टनेल दुर्घटनाको उद्धारभन्दा यो घटना फरक रहेको बताए।
‘विश्वभर टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञता भएका जनशक्ति छन्। तर यो घटना फरक छ। पहिरोले थुनिएको होइन, बाढी टनेलभित्र पसेर हिलो–माटोले पूर्ण रूपमा थुनिएका टनेल हुन्,’ प्रधानमन्त्री शाहले भने।
उनका अनुसार यस्तो अवस्थाबाट तत्काल उद्धार गर्न सकिने प्रविधि हालसम्म कुनै पनि देशसँग उपलब्ध छैन। उनले विभिन्न मुलुकमा भएका टनेल उद्धारका घटनासँग रसुवाको घटनालाई तुलना गर्न नमिल्ने बताए।
प्रधानमन्त्री शाहले मौसम अनुकूल भएपछि मात्रै उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन सकिने बताए। टनेलभित्र हिलो केही सुक्ने, उद्धारकर्मी तथा उपकरण अडिन सक्ने अवस्था बन्ने र मानिस प्रवेश गर्न सक्ने वातावरण तयार भएपछि उद्धार गर्न सहज हुने उनको भनाइ छ।
‘जतिबेला मौसमले साथ दिन्छ, जतिबेला हिलो अलिक सुक्छ र त्यहाँ अडिन सक्ने ठाउँ हुन्छ, मानिस पस्न र अडिन सक्ने अवस्था भएपछि उद्धार गर्न सकिन्छ,’ उनले भने।
प्रधानमन्त्रीका अनुसार टनेलको संरचना र अवस्थाका कारण एकपटकमा एक–दुईवटाभन्दा बढी एक्साभेटरसमेत परिचालन गर्न सकिने अवस्था छैन।
उद्धारमा ढिलाइ भएको भन्दै बाहिरबाट आएका गुनासोप्रति सरकार विचलित नभएको पनि प्रधानमन्त्री शाहले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा निरन्तर खटिरहेको उनको भनाइ छ।
‘हामी गुनासो आएर विचलित भएका छैनौँ। हामीले गर्ने काम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहनुभएको छ,’ उनले भने।
प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई निरुत्साहित गर्नेभन्दा उनीहरूको कामलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्