काठमाडौं । रसुवामा आएको बाढीपछि खोज, उद्धार तथा राहतका लागि मंगलबारसम्म २३२ पटक हेलिकप्टर उडान गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार भदौ १० देखि १६ गतेसम्म ११ वटा हेलिकप्टर कम्पनीका हेलिकप्टरले बाढी प्रभावित क्षेत्रमा २३२ उडान गरेका हुन्।
उक्त अवधिमा नेपाली सेनाका हेलिकप्टरले ४२ उडान गरेका छन्। सरकारी राहत तथा उद्धारका लागि निजी हेलिकप्टरले १२९ उडान गरेका छन् भने ६१ वटा निजी उडान भएका छन्।
सरकारले निजी क्षेत्रका हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार समन्वय केन्द्र (आरसीसी) मार्फत परिचालन गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री ढुवानी गरिरहेको छ।
सरकारले निजी क्षेत्रका १५ वटासम्म हेलिकप्टर परिचालन गरिरहेको जनाएको छ। भदौ ११ पछि यी हेलिकप्टर नेपाली सेनाका हेलिकप्टरसँगै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा प्रयोग भइरहेका छन्।
विपद्का समयमा हेलिकप्टर सेवा परिचालन गर्ने विषयमा सरकारले वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सम्झौतासमेत गरेको छ।
सम्झौताअनुसार विपद् उद्धारका लागि हेलिकप्टर उडाउँदा प्रतिघण्टा करिब १ हजार ८ सय अमेरिकी डलर भाडा तय गरिएको छ। सोही आधारमा हेलिकप्टर सञ्चालकले न्यूनतम भाडादरअनुसार बिल पेस गर्ने र सरकारले दाबीअनुसार भुक्तानी गर्ने व्यवस्था रहेको संघले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्