काठमाडौं । उद्धारकर्ताहरूले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको प्रवेश क्षेत्रमा रहेका सातवटा ठूला ढुंगा विस्फोट गरी हटाएका छन्।
मंगलबार राति परेको भारी वर्षापछि सुरुङको मुखमा जमेको पानी निकालेर अवरोध बनेका ठूला ढुंगा विस्फोट गरी हटाइएको हो।
प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार अहिले विस्फोटबाट फुटाइएका ढुंगाका टुक्रा हटाउने, सुरुङभित्रको बाटो सफा गर्ने र तलतर्फ झर्ने काम भइरहेको छ।
भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीले आयोजनाको सुरुङभित्र माटो र लेदो थुपारेको छ। त्यसलाई हटाएर बाहिर निकाल्न ह्वील लोडर र मिनी एक्स्काभेटर तयारी अवस्थामा राखिएको छ।
न्यौपानेका अनुसार सुरुङ सफा गर्दै करिब १६० मिटर अगाडि बढेपछि आयोजनाको पावरहाउससम्म पुग्न सकिनेछ। सुरुङमा प्रवेश गर्ने बाटो खुलाउन अहिले ढुंगा हटाउने र लेदो सफा गर्ने कामलाई प्राथमिकता दिइएको छ।
नेपाली सेनाका अनुसार यसअघि त्रिशूली–३ ‘ए’को टनेल हेड फेला पारिएको थियो भने सुरुङभित्र कम्प्रेसरमार्फत हावा पठाउने र पानी निकाल्ने कामसमेत भइरहेको छ।
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढीपछि ४२ जना सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको अवस्थाबारे जानकारी लिन सुरुङभित्र प्रवेश गरी खोजी गर्ने प्रयास जारी छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्