काठमाडौं । इरानसँगको तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्न सुझाव दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा हर्मुज स्ट्रेट अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै यसको नाम ‘ट्रम्प स्ट्रेट’ राख्ने प्रस्ताव गरेका हुन्।
उनले लेखेका छन्, ‘अब यो अमेरिकाको नियन्त्रणमा छ भने के हामीले हर्मुज स्ट्रेटको नाम ट्रम्प स्ट्रेट राख्नुपर्छ? अमेरिकाजस्तै यो पहिलेभन्दा बढी तातो हुनेछ।’
हर्मुज स्ट्रेटमा पछिल्ला दिनमा तनाव बढ्दै गएको छ। बुधबार एक साउदी ढुवानी कम्पनीले हर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आक्रमणमा दुई फिलिपिनो नाविक मारिएको जनाएको छ।
यसअघि ग्रिक समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिस्याक्सले मंगलबार बिहान हर्मुज स्ट्रेटमा दुई तेल ट्यांकरलाई अज्ञात विमानले निशाना बनाएको जनाएको थियो।
यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले फक्स न्युजसँग कुरा गर्दै इरानबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्। उनले द्वन्द्व अन्त्य गर्ने सबैभन्दा छिटो उपाय इरानी शासनलाई कुनै पनि प्रकारको समर्थन नदिनु रहेको बताएका छन्।
उता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले अमेरिकालाई चेतावनी दिँदै नयाँ रणनीतिको सामना गर्नुपर्ने बताएका छन्।
हर्मुज स्ट्रेट विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्गमध्ये एक हो। पछिल्लो तनावका कारण यहाँबाट हुने तेल तथा अन्य वस्तुको ढुवानी प्रभावित हुने जोखिम बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्