काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर आकाशमा सामान्यतया बादल लागेको छ। कर्णाली प्रदेशका सुर्खेत, दैलेखलगायत आसपासका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनीको तराई क्षेत्रमा हुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ।
केही स्थानमा भारी वर्षाको सम्भावना
बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि कोसी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
देशका पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोसी र बागमतीका हिमाली तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
काठमाडौंमा दिउँसोदेखि वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो १२–१ बजेपछि उपत्यकामा वर्षाको सम्भावना बढी देखिएको छ।
उहाँका अनुसार दिउँसो हल्का वर्षा हुने सम्भावना रहे पनि साँझतिर मध्यमसम्म वर्षा हुन सक्नेछ। आज काठमाडौं उपत्यकामा अधिकांश समय आकाशमा बादल लागिरहने सम्भावना रहेको उहाँले बताउनुभयो।
महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्