काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
तराईमा हावाहुरीको सम्भावना
मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा वर्षासँगै हावाहुरी चल्नसक्ने विभागले जनाएको छ।
आज राति पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ।
यस्तै कोसी प्रदेशको तराईका केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
देशभर मनसुनी वायुको प्रभाव
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरमा र पूर्वतर्फ सरदर स्थानकै आसपासमा रहेको छ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा वर्षा र बाढीपहिरोका घटना भइरहेका कारण भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी तथा खोलाको जलस्तर बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्