काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ज्यान जोगाएका तीन जना ६ दिनपछि घर फर्किएका छन् । मकवानपुरका राजेन्द्र थापामगर, उनका सालो नवीन सिन्तान र साथी सुजन गोले बाढीबाट भागेर ज्यान जोगाउँदै मंगलबार राति घर आइपुगेका हुन् ।
भदौ १० गते बिहान करिब ९ बजे राजेन्द्रले श्रीमती करिस्मा सिंह तामाङलाई फोन गरेर आफू बाँचिरहेको जानकारी दिएका थिए ।
‘अँ करिस्मा, म बाँचेको छु है । बाढीबाट म, भाइ र सुजनलाई केही भएको छैन । हामी बाँच्यौँ,’ राजेन्द्रले फोनमा भनेका थिए ।
तर केहीबेरमै मोबाइलको नेटवर्क गयो । त्यसपछि राजेन्द्रसँग लामो समय सम्पर्क हुन सकेन ।
करिब आधा घण्टापछि पुनः फोन सम्पर्क भए पनि एक मिनेटजति मात्रै कुरा भयो । त्यसपछि लगातार ६ दिनसम्म करिस्माले श्रीमान्को खबर पाउन सकिनन् ।
रसुवामा आएको बाढीका भयावह दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि करिस्माको चिन्ता झन् बढ्यो । श्रीमान् बाढी प्रभावित क्षेत्रमा रहेको थाहा पाएपछि उनी हरेक क्षण फोन आउने प्रतीक्षामा बसिन् ।
अन्ततः भदौ १५ गते बेलुका राजेन्द्रको फोन आयो ।
‘हेल्लो बुढी… हामी उद्धार भएर काठमाडौं आइपुग्यौँ है,’ राजेन्द्रले फोनमा भने ।
६ दिनदेखि श्रीमान्को अवस्थाबारे अनिश्चित रहेकी करिस्माका लागि त्यो खबर ठूलो राहत बन्यो । राजेन्द्रले भाइ नवीन पनि आफूसँगै सुरक्षित रहेको बताएपछि उनको चिन्ता केही कम भयो ।
राजेन्द्र, नवीन र सुजन मंगलबार राति घर पुगेपछि बुधबार बिहानदेखि उनीहरूलाई भेट्न आफन्त, छिमेकी र शुभेच्छुकको भीड लागेको छ ।
केही सेकेन्डको निर्णयले जोगियो ज्यान
राजेन्द्र विगत दुई वर्षदेखि रसुवामा रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्दै आएका थिए । उनी क्रसरमा स्काभेटर चलाउँथे ।
भदौ १० गते नाइट ड्युटी सकेर उनी कोठामा फर्किएका थिए । थकानका कारण उनी सुत्ने तयारीमा थिए । त्यही बेला साथी सुजन गोलेले उनलाई बोलाए ।
‘ओइ, हेर त, बाढी आयो जस्तो छ । खोला धमिलो छ, पानी पनि बढेको छ।’
राजेन्द्रले झ्यालबाट भोटेकोसी नदीतर्फ हेरे । नदीको बहाव अस्वाभाविक रूपमा बढिरहेको थियो ।
अवस्था सामान्य नभएको बुझेपछि उनले तत्कालै साथीहरूलाई उठाए ।
‘बाढी ठूलो आइसक्यो, छिटो भाग । नवीन उठ्, सुजन छिटो हिँड्।’
राजेन्द्र, नवीन र सुजनसहित अन्य कामदार सुरक्षित स्थानतर्फ भाग्न थाले ।
सडकतर्फ जाँदै गर्दा बाढीले ढुंगा उछिट्याउन थालेपछि उनीहरू नजिकै रहेको चिनियाँ कामदारको मेसमा पसे । तर बाढीले मेसको तल्लो भागसमेत बगाउन थाल्यो ।
राजेन्द्रका अनुसार उनीहरू माथिल्लो तलामा रहेकाले त्यहाँ रहेका अन्य ६ जना साथीलाई समेत तानेर सुरक्षित राख्न सफल भए । तर एक जना चिनियाँ कामदार भने हातबाट चिप्लिएर बाढीमा बगे ।
मेसको ठूलो हिस्सा बाढीले बगाएपछि उनीहरूले झ्याल फोडेर बाहिर निस्किए र जंगल हुँदै माथिल्लो क्षेत्रमा पुगे ।
त्यहाँ एउटा विद्यालयमा आश्रय लिएर उनीहरूले करिब ६ दिन चाउचाउ र चिउराको भरमा बिताए ।
अन्ततः सोमबार नेपाली सेनाको हेलिकोप्टरले उनीहरूको उद्धार गर्यो । नुवाकोट ल्याइएका उनीहरू त्यहाँबाट गाडीमार्फत काठमाडौं पुगेका थिए ।
‘भिनाजुले उठाउन नभ्याएको भए म सुतेकै हुन्थेँ’
नवीन भर्खरै मात्र भिनाजु राजेन्द्रसँगै काम गर्न रसुवा पुगेका थिए । आयोजनामा काम गर्न थालेको उनको १०–१२ दिन मात्रै भएको थियो ।
बाढी आउँदा उनी सुतिरहेका थिए । राजेन्द्रले तत्काल उठाएर भाग्न भनेपछि मात्रै उनी सुरक्षित स्थानतर्फ जान सके ।
‘सँगै काम गर्ने धेरै साथीहरूलाई आँखैअगाडि बाढीले बगायो । धन्न हामी भागेर बाँच्न सक्यौँ,’ नवीनले भने, ‘भिनाजुले उठाउन नभ्याएको भए म त सुतेको सुत्यै हुन्थेँ होला।’
राजेन्द्रले समयमै खतरा पहिचान गरेर भाग्ने निर्णय नगरेको भए आफूहरू बाँच्न मुस्किल हुने उनको भनाइ छ ।
‘खोला एक्कासि ठूलो भएर आउँछ भन्ने थाहा थियो’
राजेन्द्रका अनुसार रसुवामा काम गरेको दुई वर्षको अनुभवका कारण भोटेकोसीको प्रकृतिबारे उनलाई केही जानकारी थियो ।
‘रसुवाको बाढीबारे मलाई केही अनुभव थियो । खोला कुन बेला एक्कासि ठूलो भएर आउँछ, पत्तो हुँदैन भन्ने थाहा थियो,’ उनले भने ।
बाढी आउनुअघि नै खोला धमिलो हुँदै विस्तारै बढिरहेको देखेपछि उनले तत्कालै साथीहरूलाई सुरक्षित स्थानतर्फ लैजाने निर्णय गरेका थिए ।
‘हामी एउटा कोठाबाट अर्को कोठातिर सर्दै थियौँ । त्यही क्रममा हामी बसेको घरको आधा भाग नै बाढीले बगाइसकेको रहेछ,’ राजेन्द्रले भने, ‘त्यसपछि ढिला गर्ने अवस्था थिएन । जस्ता तोडेर बाहिर निस्कियौँ र भागेर ज्यान जोगाउन सफल भयौँ।’
केही सेकेन्डको निर्णय र तत्काल गरिएको भागदौडले राजेन्द्र, नवीन र सुजनसहित अन्य कामदारको समेत ज्यान जोगियो ।
बाढीले उनीहरूका अत्यावश्यक कागजात तथा दुईवटा मोटरसाइकलसमेत बगायो । तर ६ दिनसम्म मृत्युको मुखमा रहेर उनीहरू अन्ततः सकुशल घर फर्किएका छन् ।
६ दिनपछि घरको आँगनमा आफन्त र छिमेकीसँग बसेर उनीहरू अहिले पनि रसुवामा देखेको त्यो भयावह दृश्य सुनाइरहेका छन् ।
राजेन्द्रकी श्रीमती करिस्माका लागि भने श्रीमान्को त्यो फोन जीवनकै सबैभन्दा ठूलो राहत बनेको छ ।
‘६ दिनदेखि उहाँको कुनै खबर थिएन । त्यस्तो अवस्थामा बाँचेर काठमाडौं आइपुग्नुभएको रहेछ भन्ने सुन्दा मन ढुक्क भयो,’ करिस्माले भनिन्, ‘उहाँमात्रै होइन, मेरो भाइ नवीन पनि सँगै छ भनेको सुन्दा झन् खुसी लाग्यो।’
मृत्युको खबर आउने डरमा बितेका ६ दिनपछि अहिले ठूलो सुकौलीमा भने एउटै खबरले खुसी छाएको छ—राजेन्द्र, नवीन र सुजन बाढीबाट बाँचेर घर फर्किएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्