ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० सेकेन्डको निर्णयले जोगियो ९ जनाको ज्यान, ६ दिनपछि घर फर्किए राजेन्द्र


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : २५   बजे

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ज्यान जोगाएका तीन जना ६ दिनपछि घर फर्किएका छन् । मकवानपुरका राजेन्द्र थापामगर, उनका सालो नवीन सिन्तान र साथी सुजन गोले बाढीबाट भागेर ज्यान जोगाउँदै मंगलबार राति घर आइपुगेका हुन् ।

भदौ १० गते बिहान करिब ९ बजे राजेन्द्रले श्रीमती करिस्मा सिंह तामाङलाई फोन गरेर आफू बाँचिरहेको जानकारी दिएका थिए ।

‘अँ करिस्मा, म बाँचेको छु है । बाढीबाट म, भाइ र सुजनलाई केही भएको छैन । हामी बाँच्यौँ,’ राजेन्द्रले फोनमा भनेका थिए ।

तर केहीबेरमै मोबाइलको नेटवर्क गयो । त्यसपछि राजेन्द्रसँग लामो समय सम्पर्क हुन सकेन ।

करिब आधा घण्टापछि पुनः फोन सम्पर्क भए पनि एक मिनेटजति मात्रै कुरा भयो । त्यसपछि लगातार ६ दिनसम्म करिस्माले श्रीमान्को खबर पाउन सकिनन् ।

रसुवामा आएको बाढीका भयावह दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि करिस्माको चिन्ता झन् बढ्यो । श्रीमान् बाढी प्रभावित क्षेत्रमा रहेको थाहा पाएपछि उनी हरेक क्षण फोन आउने प्रतीक्षामा बसिन् ।

अन्ततः भदौ १५ गते बेलुका राजेन्द्रको फोन आयो ।

‘हेल्लो बुढी… हामी उद्धार भएर काठमाडौं आइपुग्यौँ है,’ राजेन्द्रले फोनमा भने ।

६ दिनदेखि श्रीमान्को अवस्थाबारे अनिश्चित रहेकी करिस्माका लागि त्यो खबर ठूलो राहत बन्यो । राजेन्द्रले भाइ नवीन पनि आफूसँगै सुरक्षित रहेको बताएपछि उनको चिन्ता केही कम भयो ।

राजेन्द्र, नवीन र सुजन मंगलबार राति घर पुगेपछि बुधबार बिहानदेखि उनीहरूलाई भेट्न आफन्त, छिमेकी र शुभेच्छुकको भीड लागेको छ ।

केही सेकेन्डको निर्णयले जोगियो ज्यान

राजेन्द्र विगत दुई वर्षदेखि रसुवामा रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्दै आएका थिए । उनी क्रसरमा स्काभेटर चलाउँथे ।

भदौ १० गते नाइट ड्युटी सकेर उनी कोठामा फर्किएका थिए । थकानका कारण उनी सुत्ने तयारीमा थिए । त्यही बेला साथी सुजन गोलेले उनलाई बोलाए ।

‘ओइ, हेर त, बाढी आयो जस्तो छ । खोला धमिलो छ, पानी पनि बढेको छ।’

राजेन्द्रले झ्यालबाट भोटेकोसी नदीतर्फ हेरे । नदीको बहाव अस्वाभाविक रूपमा बढिरहेको थियो ।

अवस्था सामान्य नभएको बुझेपछि उनले तत्कालै साथीहरूलाई उठाए ।

‘बाढी ठूलो आइसक्यो, छिटो भाग । नवीन उठ्, सुजन छिटो हिँड्।’

राजेन्द्र, नवीन र सुजनसहित अन्य कामदार सुरक्षित स्थानतर्फ भाग्न थाले ।

सडकतर्फ जाँदै गर्दा बाढीले ढुंगा उछिट्याउन थालेपछि उनीहरू नजिकै रहेको चिनियाँ कामदारको मेसमा पसे । तर बाढीले मेसको तल्लो भागसमेत बगाउन थाल्यो ।

राजेन्द्रका अनुसार उनीहरू माथिल्लो तलामा रहेकाले त्यहाँ रहेका अन्य ६ जना साथीलाई समेत तानेर सुरक्षित राख्न सफल भए । तर एक जना चिनियाँ कामदार भने हातबाट चिप्लिएर बाढीमा बगे ।

मेसको ठूलो हिस्सा बाढीले बगाएपछि उनीहरूले झ्याल फोडेर बाहिर निस्किए र जंगल हुँदै माथिल्लो क्षेत्रमा पुगे ।

त्यहाँ एउटा विद्यालयमा आश्रय लिएर उनीहरूले करिब ६ दिन चाउचाउ र चिउराको भरमा बिताए ।

अन्ततः सोमबार नेपाली सेनाको हेलिकोप्टरले उनीहरूको उद्धार गर्‍यो । नुवाकोट ल्याइएका उनीहरू त्यहाँबाट गाडीमार्फत काठमाडौं पुगेका थिए ।

‘भिनाजुले उठाउन नभ्याएको भए म सुतेकै हुन्थेँ’

नवीन भर्खरै मात्र भिनाजु राजेन्द्रसँगै काम गर्न रसुवा पुगेका थिए । आयोजनामा काम गर्न थालेको उनको १०–१२ दिन मात्रै भएको थियो ।

बाढी आउँदा उनी सुतिरहेका थिए । राजेन्द्रले तत्काल उठाएर भाग्न भनेपछि मात्रै उनी सुरक्षित स्थानतर्फ जान सके ।

‘सँगै काम गर्ने धेरै साथीहरूलाई आँखैअगाडि बाढीले बगायो । धन्न हामी भागेर बाँच्न सक्यौँ,’ नवीनले भने, ‘भिनाजुले उठाउन नभ्याएको भए म त सुतेको सुत्यै हुन्थेँ होला।’

राजेन्द्रले समयमै खतरा पहिचान गरेर भाग्ने निर्णय नगरेको भए आफूहरू बाँच्न मुस्किल हुने उनको भनाइ छ ।

‘खोला एक्कासि ठूलो भएर आउँछ भन्ने थाहा थियो’

राजेन्द्रका अनुसार रसुवामा काम गरेको दुई वर्षको अनुभवका कारण भोटेकोसीको प्रकृतिबारे उनलाई केही जानकारी थियो ।

‘रसुवाको बाढीबारे मलाई केही अनुभव थियो । खोला कुन बेला एक्कासि ठूलो भएर आउँछ, पत्तो हुँदैन भन्ने थाहा थियो,’ उनले भने ।

बाढी आउनुअघि नै खोला धमिलो हुँदै विस्तारै बढिरहेको देखेपछि उनले तत्कालै साथीहरूलाई सुरक्षित स्थानतर्फ लैजाने निर्णय गरेका थिए ।

‘हामी एउटा कोठाबाट अर्को कोठातिर सर्दै थियौँ । त्यही क्रममा हामी बसेको घरको आधा भाग नै बाढीले बगाइसकेको रहेछ,’ राजेन्द्रले भने, ‘त्यसपछि ढिला गर्ने अवस्था थिएन । जस्ता तोडेर बाहिर निस्कियौँ र भागेर ज्यान जोगाउन सफल भयौँ।’

केही सेकेन्डको निर्णय र तत्काल गरिएको भागदौडले राजेन्द्र, नवीन र सुजनसहित अन्य कामदारको समेत ज्यान जोगियो ।

बाढीले उनीहरूका अत्यावश्यक कागजात तथा दुईवटा मोटरसाइकलसमेत बगायो । तर ६ दिनसम्म मृत्युको मुखमा रहेर उनीहरू अन्ततः सकुशल घर फर्किएका छन् ।

६ दिनपछि घरको आँगनमा आफन्त र छिमेकीसँग बसेर उनीहरू अहिले पनि रसुवामा देखेको त्यो भयावह दृश्य सुनाइरहेका छन् ।

राजेन्द्रकी श्रीमती करिस्माका लागि भने श्रीमान्को त्यो फोन जीवनकै सबैभन्दा ठूलो राहत बनेको छ ।

‘६ दिनदेखि उहाँको कुनै खबर थिएन । त्यस्तो अवस्थामा बाँचेर काठमाडौं आइपुग्नुभएको रहेछ भन्ने सुन्दा मन ढुक्क भयो,’ करिस्माले भनिन्, ‘उहाँमात्रै होइन, मेरो भाइ नवीन पनि सँगै छ भनेको सुन्दा झन् खुसी लाग्यो।’

मृत्युको खबर आउने डरमा बितेका ६ दिनपछि अहिले ठूलो सुकौलीमा भने एउटै खबरले खुसी छाएको छ—राजेन्द्र, नवीन र सुजन बाढीबाट बाँचेर घर फर्किएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कांग्रेस प्रतिष्ठानले १ करोड दिने, उद्धारमा सरकारलाई सघाउने

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सम्बन्धित

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्रीको जवाफ, विपक्षी दलको प्रश्न–‘उद्धारमा सरकार असफल’

बाढीको यस्तो प्रलय रोक्न नेपाललाई चाहिन्छ ठुल्ठूला बाँध

जलवायु अभियन्ता अटलदेव ढकाल ग्लोकल टिन हिरो दक्षिण एसिया विजेता

आगामी तीन दिन प्रमुख नदीमा बहाव बढ्ने, सतर्क रहन आग्रह

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

पञ्चकुण्ड तालमा जलवायु सङ्कटको संकेत, १२ वर्षमा क्षेत्रफल ८४६ प्रतिशतले बढेको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu