काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानीमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिरै बोटलिङ गरेर सिलिन्डर पठाउन थालिएको छ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न उद्योगले अन्य जिल्लाका ग्यास उद्योगसँग समन्वय गरी त्यहीँ ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन्।
साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ। चितवनको बाबा ग्यासले मंगलबार श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा छ।
त्यस्तै, चितवनको साइबाबाले आफ्नै ९ सय सिलिन्डर काठमाडौं पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर पठाएको छ।
गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम ग्यास तथा हेटौँडाको साहारामा काठमाडौंका एभरेष्ट र सुगम ग्यास भरेर पठाउन थालिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानी बाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।
कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्ति नघटेकाले अभाव हुने अवस्था नरहेको बताउनुभयो। बुलेट काठमाडौंसम्म पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत सिलिन्डर पठाइरहेकाले आपूर्ति व्यवस्थापन भइरहेको उहाँको भनाइ छ।
उहाँका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाण हो। सोही अनुपातमा ग्यास आयात भइरहेकाले तत्काल अभाव हुने अवस्था नरहेको उहाँले बताउनुभयो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिर ग्यास बोटलिङ गर्न अनुमति दिएको छ। उपत्यका र आसपासका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासी पूर्व–पश्चिमका ग्यास उद्योगसँग समन्वय गरी ग्यास भरेर उपत्यकामा पठाउन थालेका छन्।
काठमाडौं उपत्यका र आसपासका जिल्लामा देशको कुल एलपी ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने गरेको संघले जनाएको छ।
यसरी वैकल्पिक उद्योगबाट ग्यास बोटलिङ गरी आपूर्ति सुरु गरिएपछि कृष्णभीरमा सडक अवरोधका कारण राजधानीमा एलपी ग्यासको अभाव हुन नदिने प्रयास गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्