चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास आपूर्ति सहज बनाउन राजधानीबाहिरै ग्यास बोटलिङ गरी पठाउन थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न ग्यास उद्योगले अन्य जिल्लाका उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगन्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार भदौ १६ गते चितवनको बाबा ग्यासले श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको थियो । त्यस्तै, चितवनकै साइबाबाले आफ्ना ९ सय सिलिन्डर तथा नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर काठमाडौं पठाएको छ । गैँडाकोटको जानकी ग्यास उद्योगमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको सहारा ग्यासमा काठमाडौंका एभरेस्ट र सुगम ग्यास भरेर पठाउन थालिएको छ । कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानीबाहिरका विभिन्न ग्यास उद्योगमा बोटलिङ गरी त्रिभुवन राजपथमार्फत काठमाडौं पठाउन थालेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी नआएकाले तत्काल अभाव हुने अवस्था नरहेको बताए । बुलेट काठमाडौं पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत पठाइरहेकाले आपूर्ति व्यवस्थापन भइरहेको उनको भनाइ छ । उनका अनुसार गत महिना भारतबाट ६० हजार २ सय मेट्रिक टन ग्यास नेपाल भित्रिएको थियो । हाल पनि सोही अनुपातमा ग्यास आइरहेकाले आपूर्तिमा समस्या नहुने उनले बताए । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिर ग्यास बोटलिङ गर्न अनुमति दिएको जानकारी दिए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्