चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन राजधानीबाहिरका उद्योगबाटै सिलिन्डर भरेर पठाउन थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्ग हुँदै काठमाडौं प्रवेश गर्न नसकेपछि उपत्यकामा खपत हुने ग्यास विभिन्न जिल्लाका उद्योगमा भरेर ट्रकमार्फत पठाउन थालिएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगन्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ । चितवनको बाबा ग्यासले मंगलबार भदौ १६ गते श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिए । धादिङको नौबिसेमा रहेको श्री ग्यासको प्लान्टसम्म बुलेट पुग्न नसकेपछि चितवनमै सिलिन्डर भरेर पठाइएको हो । त्यस्तै, चितवनकै साइबाबा ग्यासले आफ्ना ९ सय सिलिन्डर काठमाडौं पठाएको छ । नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर पठाएको छ । त्यस्तै, गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम, हेटौँडाको सहारा ग्यासमा काठमाडौंको एभरेस्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाइएको छ । कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाकै लोकप्रिय, सुपर, तारा लगायतका ग्यास उद्योगले राजधानीबाहिरका विभिन्न उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको आयातमा कमी नआएको बताए । बुलेटमार्फत ग्यास पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा सिलिन्डर भरेर ट्रकमार्फत काठमाडौं पठाइरहेकाले बजारमा ग्यास अभाव नहुने उनको भनाइ छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्