काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा बिहीबार मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। यद्यपि ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने न्यून रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहीबार दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुनसक्ने भए पनि भारी वर्षाको सम्भावना कम छ। तर रातिको समयमा भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो।
“आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ। यद्यपि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,” अधिकारीले भन्नुभयो।
मौसमविद् अधिकारीका अनुसार हाल मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशको मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन।
देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।
हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ।
हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बिहीबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बाढी प्रभावित क्षेत्रमा थप सतर्कता आवश्यक
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका काम जारी रहेका बेला थप वर्षाको सम्भावनाले जोखिम बढाउन सक्ने देखिएको छ।
विभागले वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विशेषगरी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नदी किनार, खोला आसपास र कमजोर भूभागमा नजान तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा लिन विभागले आग्रह गरेको छ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा खोज तथा उद्धार अभियान चलिरहेको अवस्थामा मौसममा तत्काल उल्लेख्य सुधार नहुने पूर्वानुमानले उद्धार तथा पुनःस्थापनाका काममा समेत थप चुनौती सिर्जना गर्न सक्ने देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्