परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी बाढीबाट भएको क्षति, सरकारको खोज तथा उद्धार प्रयास र विदेशी नागरिकको अवस्थाबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी गराउनुभएको छ।
परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी थिए। मन्त्री खनालले भदौ १० गते रसुवागढीस्थित भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा पुर्याएको क्षति तथा पछिल्लो अवस्थाबारे जानकारी दिनुभयो।
मन्त्री खनालले केही मिनेटमै ठूलो परिमाणमा माटो र गेग्रान बगाएर व्यापक क्षति पुर्याएको उक्त बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिनुभयो। उहाँका अनुसार सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा विदेशी नागरिकको सुरक्षा रहेको छ।
उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संघ, प्रदेश र स्थानीय तहका निकाय तथा स्वयंसेवक परिचालन गरिएको र २१ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएको उहाँले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले सम्पर्कविहीन विदेशी नागरिकको खोजी, पहिचान र परिवारसँग समन्वयका लागि कूटनीतिक नियोग तथा सम्बन्धित निकायसँग निरन्तर सहकार्य गरिरहेको जनाएको छ।
विपद्पछि भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका, अस्ट्रेलिया, बेलायतलगायत विभिन्न मुलुक तथा युरोपेली संघ, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघबाट विशेषज्ञता, उपकरण, चिकित्सा तथा फरेन्सिक सहयोग र आर्थिक सहायता प्राप्त भएको मन्त्री खनालले बताउनुभयो।
उहाँले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने भन्दै विस्तृत क्षति मूल्यांकनपछि अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक सहयोगका लागि आग्रह गरिने बताउनुभयो। अन्तर्राष्ट्रिय सहयोगलाई पारदर्शी र जवाफदेही ढंगले परिचालन गर्ने सरकारको प्रतिबद्धता रहेको उहाँको भनाइ छ।
मन्त्री खनालले भोटेकोसी विपद्लाई तत्कालीन मानवीय संकटका रूपमा मात्रै नभई हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जोडेर हेर्नुपर्ने बताउनुभयो। जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी र विपद् प्रतिरोधी पुनर्निर्माणलाई व्यवहारमा उतार्नुपर्नेमा उहाँले जोड दिनुभयो।
यसैबीच, रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपद्को प्रभाव रहे पनि देशका अन्य क्षेत्र सुरक्षित र खुला रहेको मन्त्री खनालले बताउनुभयो। काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण, सगरमाथा र बर्दियालगायत प्रमुख पर्यटकीय गन्तव्य पर्यटकका लागि खुला रहेको जानकारी दिँदै उहाँले कूटनीतिक नियोगमार्फत नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो।

Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्