काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो क्षमताको मालवाहक विमान वाई–२० ‘ए’ मार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
सोही विमानमार्फत नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ समेत नेपाल आएका छन्। उनीहरूले बाढीमा ज्यान गुमाएका नागरिकको पहिचान प्रक्रियामा नेपाली पक्षलाई प्राविधिक सहयोग गर्नेछन्।
बाढीपछि विभिन्न स्थानमा फेला परेका शवको पहिचान चुनौतीपूर्ण बनिरहेका बेला चीनबाट आएको फरेन्सिक विज्ञ टोलीले शव पहिचान तथा फरेन्सिक परीक्षणमा सहयोग गर्नेछ।
विज्ञ टोलीको आगमनले लामो समयदेखि पहिचान हुन नसकेका शवको प्रक्रिया अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए। मन्त्री पुनले नेपाल आइपुगेको चिनियाँ विज्ञ टोलीको स्वागत गरेका थिए।
फ्रिजरदेखि महामारी नियन्त्रण सामग्रीसम्म
चीनबाट ल्याइएका राहत सामग्रीमा बाढीपछि तत्काल आवश्यक पर्ने विभिन्न सामग्री समावेश छन्।
त्यसमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन तथा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि यस्ता सामग्री उपयोगी हुनेछन्।
बेली ब्रिज पनि राहत सामग्रीमा
चीनबाट आएको तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनर्स्थापनाका लागि अत्यावश्यक बेली ब्रिज समेत समावेश गरिएको छ।
बाढीले सडक तथा पुलमा क्षति पुर्याएका कारण प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनर्स्थापित गर्न अस्थायी पुल महत्वपूर्ण हुने देखिएको छ।
पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकामा आइपुगेकोजनाइएको छ।
बेली ब्रिजसहितका सामग्री तथा उपकरण परिचालन भएपछि बाढीबाट अवरुद्ध भएका क्षेत्रमा यातायात सम्पर्क पुनर्स्थापित गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्