काठमाडौं । परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीपछि ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता सूचीमा रहेको जनाएको छ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धारगरिएको जानकारी दिए।
९ हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खोजीमा
प्रवक्ता पौडेलका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमसम्म ९ हजार ३०० भन्दा बढी नेपाली सेनाउद्धार तथा खोजी कार्यमा परिचालित छन्।
भारतीय टनेल उद्धार टोली आवश्यक उपकरणसहित नेपाली सेनासँग मिलेर कार्यक्षेत्रमा खटिएको छ। चिलिमेतर्फ थप एक्स्काभेटर पठाउने तयारी भइरहेको उनले बताए।
सुरुङ उद्धारमा भारतीय र चिनियाँ टोली
लाङटाङतर्फ सेना र प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ मा चिनियाँ टनेल उद्धार टोली र नेपाली सेनासहित ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति तथा उपकरणसहित उद्धारमा खटिएको छ।
भारत र चीनका फोरेन्सिक टोली परिचालित
बाढीपछि विभिन्न स्थानमा फेला परेका शवको पहिचानका लागि भारत र चीनबाट विशेष फोरेन्सिक टोली नेपाल आएका छन्।
प्रवक्ता पौडेलका अनुसार भारतबाट १९ सदस्यीय र चीनबाट पाँच सदस्यीय फोरेन्सिक टोली कार्यक्षेत्रमा परिचालित छन्। उनीहरूले शव पहिचान तथा आवश्यक फोरेन्सिक प्रक्रियामा नेपाली पक्षलाई सहयोग गरिरहेका छन्।
दर्जनौँ देश तथा दातृ निकायको सहयोग
विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली संघ, विश्व बैंक, एसियाली विकास बैंकलगायत दर्जनौँ मित्रराष्ट्र तथा दातृ निकायले सहयोग र ऐक्यबद्धता जनाएका प्रवक्ता पौडेलले बताए।
नेपालले प्राप्त अन्तर्राष्ट्रिय सहयोगलाई खोज, उद्धार, राहत तथा विपद्पछिको व्यवस्थापनमा उपयोग गरिरहेको छ।
केरुङबाट १४० नेपाली फर्कंदै
प्रवक्ता पौडेलका अनुसार चीनको केरुङबाट १४० नेपाली तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेका छन्।
यस्तै, चिनियाँ सीमा क्षेत्रतर्फ अझै करिब १०० नेपाली बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकको खोजी, उद्धार र शव पहिचानलाई तीव्रता दिइएको तथा आवश्यकताअनुसार थप जनशक्ति, उपकरण र अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्