काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको ठूलो क्षमताको वाई–२०ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। (
राहत सामग्रीसँगै चीनले १० जना फरेन्सिक विज्ञ समेत नेपाल पठाएको छ। यो नेपालमा पठाइएको चिनियाँ विज्ञ टोलीको चौथो खेप हो। उनीहरूले रसुवा बाढीमा ज्यान गुमाएका नागरिकको पहिचान प्रक्रियामा नेपाली पक्षलाई सहयोग गर्नेछन्।
शव पहिचानमा चिनियाँ विज्ञको सहयोग
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए। सो अवसरमा चिनियाँ विज्ञ टोलीको स्वागतसमेत गरिएको थियो।
चीनबाट आएको राहत सामग्रीमा मर्चरी फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोगका अत्यावश्यक वस्तु रहेका छन्।
बाढीपछि विभिन्न स्थानमा फेला परेका शवको पहिचान चुनौतीपूर्ण बनेका बेला फरेन्सिक विज्ञको टोलीले डीएनए तथा अन्य आवश्यक परीक्षणमा सहयोग गर्नेछ।
चीनले पठायो बेलिब्रिज
तेस्रो खेपको राहत सामग्रीमा बेलिब्रिज समेत समावेश गरिएको छ। बाढी तथा पहिरोका कारण धेरै पक्की पुल बगेर यातायात सम्पर्क अवरुद्ध भएपछि चीनले नेपाललाई तत्कालका लागि ३० वटा बेलिब्रिज सहयोग गर्ने जनाएको छ।
पहिलो चरणमा उपलब्ध गराइने बेलिब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकामा आइपुगेको जनाइएको छ। ती सामग्री चिनियाँ पक्षले सीमा क्षेत्रमा हस्तान्तरण गर्ने तयारी गरेको छ।
बेलिब्रिज जडान भएपछि बाढीका कारण अवरुद्ध भएका सडक तथा यातायात सम्पर्क पुनर्स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनबाट निरन्तर राहत र प्राविधिक सहयोग
भोटेकोसी बाढीपछि चीनले नेपाललाई राहत सामग्रीसँगै उद्धार तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ।
यसअघि चीनबाट डीएनए परीक्षण उपकरण तथा सामग्री, ड्रोन, पानी शुद्धीकरण उपकरण र प्रकाश उपकरणसहित राहत सामग्री नेपाल आइसकेका छन्। चिनियाँ टनेल उद्धार विज्ञहरू पनि नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित छन्।
यससँगै चीनबाट आएको नयाँ फरेन्सिक टोली र बेलिब्रिजसहितका सामग्रीले बाढीपछि जारी शव पहिचान, राहत तथा पूर्वाधार पुनर्स्थापनाको काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्