काठमाडौँ, भदौ १८ गते । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । ठूलो मानवीय तथा भौतिक क्षति भएको बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन छन् । नुवाकोटका एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ नेपाली पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक पनि सम्पर्कविहीन छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् । खोज तथा उद्धारका लागि नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरीका चार हजार २०३ सुरक्षाकर्मी खटिएका छन् । बाढी प्रभावितमध्ये हालसम्म पाँच हजार १३५ जनाले उपचार सेवा पाएका छन् । विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट तीन हजार २०६ र सशस्त्र प्रहरी बलबाट एक हजार ६२८ जनाले उपचार सेवा लिएका छन् । हाल तीन हजार ९४८ जना होल्डिङ सेन्टरमा रहेका छन् । बाढीमा परी हालसम्म एक हजार २५२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । जसअनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ । सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकतामा राखेको छ । सेनाका अनुसार हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरिएको छ । खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ । बुधबार मात्रै २५ वटा उडान गरिएको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट पनि हालसम्म १२९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ । चार हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्