काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
धार्मिक मान्यताअनुसार द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको थियो । यही दिनको सम्झनामा जन्माष्टमी मनाउने गरिन्छ भने कृष्ण जन्मिएको रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
व्रतदेखि रातभर जाग्रामसम्म
जन्माष्टमीका दिन देशभरका कृष्णमन्दिरमा विशेष पूजाआराधना, प्रवचन, भजन तथा कीर्तन गरिन्छ ।
महिला तथा पुरुष भक्तजन व्रत बस्ने र रातभर जाग्राम बसेर श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । मध्यरातमा श्रीकृष्णको जन्मोत्सव मनाउँदै विशेष पूजा गरिन्छ ।
धार्मिक विश्वासअनुसार अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट मानवताको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो । उनले जीवनभर सत्य, धर्म र सत्कर्मको पक्षमा उभिँदै मानव समुदायलाई कर्म र कर्तव्यको मार्गमा प्रेरित गरेको मानिन्छ ।
श्रीमद्भगवद्गीता : कृष्णको अमर उपदेश
महाभारतको कुरुक्षेत्र युद्धमा अर्जुनलाई कर्तव्य र धर्मबारे उपदेश दिने क्रममा श्रीकृष्णले दिएको ज्ञानलाई श्रीमद्भगवद्गीताका रूपमा लिइन्छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगको दर्शन समेटिएको गीता हिन्दू धर्मको महत्वपूर्ण ग्रन्थका रूपमा स्थापित छ । छोटकरीमा ‘गीता’ भनेर चिनिने यो ग्रन्थ विश्वका विभिन्न भाषामा अनुवाद गरिएको छ ।
श्रीकृष्णको बाल्यकालसँग जोडिएका विभिन्न पौराणिक कथामा उनले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेको उल्लेख पाइन्छ ।
पाटनको कृष्णमन्दिरमा विशेष भीड
जन्माष्टमीको अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्दैछ ।
राजधानीको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ ।
काठमाडौंसहित देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लाग्ने तथा विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रानिकाल्ने तयारी गरेका छन् ।
आज दिनभर पूजा, आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रम हुनेछन् भने राति श्रीकृष्ण जन्मोत्सव मनाएर जन्माष्टमी पर्व सम्पन्न गरिनेछ ।
Originally published on abcnews.com.np.



प्रतिक्रिया दिनुहोस्