काठमाडौं । भोटेकोशी बाढीले सरकारी कार्यालय र संरचना बगाए पनि बाढी प्रभावित क्षेत्रमा कार्यरत कर्मचारीले उच्च मनोबलका साथ उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई निरन्तरता दिएका छन्।
कतिपय कर्मचारीले आफ्नै आँखाअगाडि सँगै काम गर्ने सहकर्मी बाढीको भेलमा बगेर बेपत्ता भएको देखेका छन्। कार्यस्थल र कार्यालय नै बाढीले बगाएको अवस्थामा पनि उनीहरू नियमित प्रशासनिक कामभन्दा प्रभावित नागरिकको उद्धार र राहतलाई प्राथमिकतामा राखेर फिल्डमै खटिएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीपछि कर्मचारी र शिक्षक गरी ६० जना सम्पर्कविहीन छन्। तीमध्ये २५ जना सङ्घीय निजामती कर्मचारी, १९ जना स्थानीय तहका कर्मचारी र १६ जना शिक्षक रहेका छन्। सम्पर्कविहीनमध्ये तीन जनाको मृत्यु पुष्टि भइसकेको छ।
मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार बाढीले कार्यालय तथा प्रशासनिक संरचना क्षतिग्रस्त बनाएपछि रसुवा र नुवाकोटका अधिकांश सरकारी कर्मचारी नियमित कार्यालय सञ्चालनभन्दा उद्धार, राहत र पुनर्स्थापनाको काममा केन्द्रित भएका छन्।
सरकारी कार्यालय नै बाढीको चपेटामा
बाढीले रसुवा भन्सार कार्यालय, दुई प्रहरी चौकी, अध्यागमन कार्यालय, राष्ट्रिय निकुञ्जको चेकपोस्ट तथा प्लान्ट क्वारेन्टाइन कार्यालयमा क्षति पुर्याएको छ।
उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका प्रशासनिक भवनसहित विभिन्न स्थानीय तहका १२ वटा वडा कार्यालयसमेत बाढीले बगाएको छ। रसुवाका उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका स्वास्थ्य, कृषि तथा पशुसम्बन्धी कार्यालयमा समेत क्षति पुगेको छ।
कार्यालय र भौतिक संरचना क्षतिग्रस्त भएपछि सेवा प्रवाह प्रभावित भएको छ। तर कर्मचारीले उपलब्ध स्रोतसाधन प्रयोग गर्दै प्रभावित नागरिकसम्म सेवा र राहत पुर्याउने प्रयास गरिरहेका छन्।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रेग्मीका अनुसार जिल्लाका सरकारी कर्मचारी अहिले नियमित कार्यालय सञ्चालनभन्दा उद्धार तथा राहतमा केन्द्रित छन्।
“अहिले कार्यालयमा बसेर काम गर्नेभन्दा पनि बाढीपीडितको राहत र उद्धार पहिलो प्राथमिकता हो,” उहाँले भन्नुभयो, “बाढीपीडितका लागि गर्नुपर्ने प्रशासनिक काम क्रमिक रूपमा मिलाउँदै जाने गरी काम भइरहेको छ।”
२४ घण्टा फिल्डमै राष्ट्रसेवक
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीको लेदोले तीन वटा विद्यालयका भवन र एउटा स्वास्थ्य चौकी पुरिएको छ।
“अहिले सबै कर्मचारी दिनरात नभनी चौबिसै घण्टा खटिनुभएको छ। हामी राष्ट्रसेवकको दायित्व पनि यही हो,” उहाँले भन्नुभयो।
कर्मचारीले तीनै तहका जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय गर्दै उद्धार र राहतको काम अघि बढाइरहेका छन्। बाढीबाट निकालिएका शवको व्यवस्थापन, राहत वितरण, प्रभावितको तथ्याङ्क सङ्कलन, अस्थायी आवासको व्यवस्थापन तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा उनीहरू खटिएका छन्।
आफ्नै कार्यालय गुमाएर पनि नागरिकको सेवामा
रसुवाको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार गाउँपालिकाको आफ्नै भवन मात्र होइन, भाडामा लिएर सञ्चालन गरिएको कार्यालयसमेत बाढीले बगाएको छ।
कार्यालयका भौतिक संरचना, कागजात तथा नियमित सेवा प्रवाहमा ठूलो असर परे पनि कर्मचारी भने विपद् व्यवस्थापनको कामबाट पछि हटेका छैनन्।
आफ्नै कार्यालय बगेको छ, सहकर्मी बेपत्ता छन्, काम गर्ने संरचना छैन—तर भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कर्मचारीको प्राथमिकता अहिले पनि एउटै छ : नागरिकको उद्धार, राहत र पुनर्स्थापना।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्