काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
कहाँ–कहाँ वर्षाको सम्भावना?
विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यस्तै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने विभागले जनाएको छ।
राति पनि वर्षा जारी रहने
राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्नेछ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्