काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरू सकुशल रहेको उद्धार गरिएका सञ्जय साहले बताएका छन्।
केहीबेरअघि मात्रै १० दिनपछि सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको थियो। उद्धारपछि सुरुङबाट बाहिर निकालिएका साहले आफूहरूसँगै सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सकुशल रहेको जानकारी दिएका हुन्।
साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्।
बाढीपछि सुरुङभित्र फसेका उनीहरूको उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली परिचालन गरिएको थियो।
उद्धार गरिएका साह र महर्जन दुवैलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू सकुशल रहेको बताएपछि उद्धार टोलीमा थप आशा जागेको छ। अब सुरुङभित्र रहेका सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्नु उद्धार टोलीको मुख्य प्राथमिकता बनेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्